रिना मगरलाई बेलायती गोर्खा सैनिकको ५० हजार सहयोग

पोखरा, १६ भदौ
श्रीमान्ले छोडेपछि असहाय बनेकी पोखरा महानगरपालिका–२५, याम्दी बस्दै आएकी रिना मगर विकलाई बेलायती गोर्खा सैनिकहरूले आफ्नो खाजा खर्चबापतको रकम सहयोग गरेका छन् ।
सिद्धिचरण नगरपालिका–४, ओखलढुंगानिवासी हाल बेलायती सेनामा कार्यरत संघर्ष राईको पहलमा बेलायतमा संकलित ५० हजार रुपैयाँ नगद बिहीबार विकलाई सहयोग हस्तान्तरण गरिएको हो । सो रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ र नेकपा केन्द्रीय सदस्य दिलु पन्तले विकलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नेकपा नेतृ पन्तले दीनदुःखी र गरिबका लागि राज्यले पनि विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । विकजस्तै नेपालमा धेरै गरिब र दीनदुःखीको अवस्था दयनीय रहेको भन्दै नेतृ पन्तले बेलायती गोर्खा सैनिक राईजस्तै मनकारी व्यक्तिहरूको सहयोग सराहनीय रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका–२५, हेम्जाका वडाध्यक्ष शोभाखर तिमिल्सिनाले रिना मगर विकका लागि वडा कार्यालयमार्फत् बस्ने घरको निर्माण भइरहेको भन्दै मौसमले साथ दिए भदौ महिनाभित्रै निर्माण भइसक्ने बताउनुभयो । युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण लामाले विकलाई सबैको सहयोग आवश्यक रहेको भन्दै दीनदुःखीलाई राज्यले पनि हेरचाह गर्नुपर्ने बताउनुभयो ।


श्रीमान्ले छोडेपछि घरबेटीबाट निकालिएकी रिना मगर विक टिनको टहरामा बस्दै आउनुभएको छ । पोखराको गण्डकी टेलिभिजनबाट उहाँको वास्तविकता प्रसारित भएपछि देश तथा विदेशमा सहयोग आउने क्रम जारी रहेको छ । उहाँका तीन वटी छोरी रहेकामा एउटी छोरी अपाङ्ग रहेकी छन् ।

Advertisment