पोखरा, ३० असार
संविधानविपरीत लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गरेको भन्दै आदिवासी जनजातिले “आरक्षण बचाऊ आन्दोलन” घोषणा गरेका छन् । जस अन्तर्गत नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा साउन २ गते नेपाल बन्द समेत घोषणा गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत नेपाल बन्दसहित विभिन्न प्रदर्शन, धर्ना, घेराउ, सिठ्ठी जुलुस, मसाल जुलुसलगायतका कार्यक्रम राखिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद्का उपाध्यक्ष एवं तमुवान–मगरात प्रदेश इञ्चार्ज गणेशलाल थकालीले लोक सेवा आयोगले आदिवासी जनजातिलगायतका उत्पीडित जाति र समुदायको अधिकारलाई कुण्ठित गरेको आरोप लगाउनुभयो ।
लोक सेवा आयोगको विज्ञापनमा गरिएको गल्तीलाई सुधार गर्दै समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कायम राख्न माग गर्दै आगामी साउन २ गते नेपाल बन्दको घोषणा गरिएको थकालीले जानकारी दिनुभयो । थकालीले नेपाल बन्द रहर नभइ उत्पीडितहरूको आवाज सुनुवाइका लागि बाध्यतावश आह्वान गरिएको जिकिर गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङले महासंघले आह्वान गरेको नेपाल बन्द सफल पार्न सहयोगका लागि सबैसँग अपिल गर्नुभयो । महासंघको आह्वानमा मंगलबार मसाल जुलुस समेत आयोजना गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका कार्यवाहक अध्यक्ष दिल गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव भूपाल गुरुङले गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङ, फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, कास्कीका अध्यक्ष सुजनकुमार लामालगायतको उपस्थिति रहेको थियो ।
आरक्षण बचाउन जनजाति आन्दोलित, साउन २ गते नेपाल बन्द घोषणा
३० असार २०७६, सोमबार
1304
![](http://laphakhabar.com/wp-content/uploads/2019/07/Capture.jpg)
Advertisment