छन्त्याल संघ, गण्डकी प्रदेशद्वारा छन्त्याल जनप्रतिनिधिलाई सम्मान

पोखरा, ३० कात्तिक
नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशले गण्डकी प्रदेशका निर्वाचित छन्त्याल जनप्रतिनिधिलाई शनिबार सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालसहित ३० जना छन्त्याल जनप्रतिनिधिहरूलाई निम्त्याइएको भएपनि ७ जना मात्रै उपस्थित थिए । उपस्थित जनप्रतिनिधिहरूलाई सम्मान गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय अध्यक्ष मोहन बुढाथोकी छन्त्यालले छन्त्याल जातिले गर्व गर्न लायक काम गर्न सुझाव दिनुभयो ।
नेपालको अल्पसंख्यक आदिवासी जनजाति समुदायको रुपमा रहेको छन्त्याल समुदाय अझै पनि विभिन्न क्षेत्रमा पछाडि परेको अवस्था रहेको भन्दै अध्यक्ष छन्त्यालले हरेक क्षेत्रमा छन्त्याल जातिको पहुँच र प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । राज्यका विभिन्न निकाय अझै पनि संविधान बमोजिम समावेशी हुन नसकेको भन्दै उहाँले समानुपातिक प्रतिनिधित्व नीतिमा मात्र नभइ व्यवहारमा लागू नभएसम्म देश अघि बढ्न नसक्ने बताउनुभयो ।
संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद घरब्जा छन्त्यालले सबै निर्वाचित छन्त्याल जनप्रतिनिधिहरूको उपस्थिति भएको भए अझै राम्रो हुने थियो भन्दै उल्लेख्य संख्यामा अनुपस्थित रहनु दुःखद् भएको बताउनुभयो । छन्त्याल जातिलाई अघि बढाउन सशक्तिकरण आवश्यक रहेको भन्दै उहाँले हरेक क्षेत्रमा छन्त्यालहरूको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । पूर्वमहासचिव हरिचन डाँडामारे छन्त्यालले छन्त्याल जातिको वास्तविक इतिहासबारे खोज, अनुसन्धान गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल छन्त्याल संघ, बेलायत तथा नेपाल आदिवासी जनजाति महासंघ, बेलायतका पूर्वअध्यक्ष तुलप्रसाद भलञ्जा छन्त्यालले छन्त्याल जनप्रतिनिधिलाई इतिहास रच्ने अवसर भएको बताउनुभयो । देश र जनताका लागि काम गर्न आग्रह गर्दैै उहाँले इतिहास र भाषा संरक्षणका लागि विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल छन्त्याल संघका केन्द्रीय सल्लाहकार एवं नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका सचिव बमबहादुर घरब्जा छन्त्याल, नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष सु. धनबहादुर भलञ्जा छन्त्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्रबहादुर श्रीस, तमानखोला गाउँपालिका–४, बागलुङका वडाध्यक्ष उदिमबहादुर घरब्जा छन्त्याल, काठेखोला गाउँपालिका–८, बागलुङकी वडाध्यक्ष चित्रा झिंराजा छन्त्याल, नेपाल छन्त्याल संघ, कास्कीका निवर्तमान अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्याल, नेपाल छन्त्याल महिला संघ, कास्कीकी अध्यक्ष माया तथब्जा छन्त्याललगायतले छन्त्याल जातिको पहिचान स्थापित गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा काठेखोला गाउँपालिका–८, बागलुङकी वडाध्यक्ष चित्रा झिंराजा छन्त्याल, तमानखोला गाउँपालिका–४, बागलुङका वडाध्यक्ष उदिमबहादुर घरब्जा छन्त्याल, तमानखोला गाउँपालिका–६, बागलुङका वडाध्यक्ष कुलबहादुर झिंराजा छन्त्याल, ढोरपाटन नगरपालिका, बागलुङकी नगर कार्यपालिका सदस्य बेलकुमारी डाँडामारे छन्त्याल, अर्का ढोरपाटन नगर कार्यपालिका सदस्य थमबहादुर डाँडामारे छन्त्याल, तमानखोला गाउँपालिका–४, बागलुङका वडा सदस्य लगबहादुर घरब्जा छन्त्याल र ताराखोला गाउँपालिका–१, अमरभूमि, भुस्काट, बागलुङका पूर्व वडाध्यक्ष जगबहादुर घरब्जा छन्त्याललाई सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो ।
नेपाल छन्त्याल संघ, गण्डकी प्रदेशका अध्यक्ष खिम झिंराजा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव थमप्रकाश तथब्जा छन्त्याल र कोषाध्यक्ष डम्बरबहादुर पुराने छन्त्यालले पनि बोल्नुभएको थियो । सो अवसरमा छन्त्याल जनप्रतिनिधिहरूसँग अन्तरक्रिया समेत गरिएको थियो ।

Advertisment