फोनिजको स्याङ्जा शाखा गठन, संयोजकमा गुरुङ

वालिङ, १४ कात्तिक
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) स्याङ्जा शाखाको संयोजकमा तिलक गुरुङ चयन हुनुभएको छ । स्याङ्जाका आदिवासी जनजाति पत्रकारहरूको भेलाले गुरुङलाई तदर्थ समितिको संयोजकमा चयन गरेको हो ।
गुरुङ ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्दै आएका व्यक्ति हुन् । त्यसैगरी, भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । यसको सह–संयोजकमा अप्सरा राना सचिवमा इशा राना, सदस्यहरूमा अस्मिता राना, सीता थापा, प्रमोद गुरुङ र जमुना गुरुङ चयन हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारी रहनुभएको थियो ।
गठन भएको तदर्थ समितिले आगामी मंसिर २५ गते जिल्ला अधिवेशन गर्नुपर्नेछ । भेलामा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देल, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, गण्डकी प्रदेशका अध्यक्ष पदमराज गुरुङ, नेपाल प्रेस युनियन, स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, प्रेस चौतारी, स्याङ्जाका अध्यक्ष मुक्ति न्यौपानेलगायतका वक्ताहरूले आफ्नो हक अधिकारीका लागि आदिवासी जनजाति पत्रकारहरू सङ्गठित हुनु राम्रो पक्ष रहेको बताएका थिए ।
पत्रकार उत्पादनका लागि तालिम आवश्यक देखिएकाले जिल्ला अधिवेशन पछि तालिम सञ्चालन हुने प्रतिबद्धता प्रदेश अध्यक्ष एमबी आस्थाले गरे । फोनिज, गण्डकी प्रदेशले नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारीमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा पत्रकार क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।

Advertisment