समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को निर्माणमा दुई म्यूजिक भिडियोको छायांकन

पातीचौर, ३ मंसिर
पर्वतको मोदी गाउँपालिका–५, बाजुङको चिनारी दिने गरी तयार भएका दुई वटा गीतका म्यूजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा ‘बाजुङ फलाल्ने गुरुङ चिनारी’ र ‘समग्र बाजुङ गाउँको चिनारी’ गरी दुई वटा भिडियोको बाजुङको विभिन्न स्थानमा छायांकन गरिएको निर्देशक लब्सन गुरुङले बताउनुभयो । ‘बाजुङ फलाल्ने गुरुङ चिनारी’ गीतमा बाजुङमा रहेका गुरुङहरुको मौलिक संस्कृति, परम्परा, शैली, भेषभुषा लगायतका कुराहरु देखाउन लागिएको छ । पछिल्लो समयमा बढ्दै गएको बसाईँसराईँको कारण मौलिक संस्कृतिहरु लोप हुँदै गएका कारण बसाईँ सरेर गएका तथा अब जन्मिने नयाँ पुस्तालाई पनि स्थानीय र परम्परागत शैलीको जानकारी होस भन्ने उद्देश्यले गीत बनाइएको हो।
‘समग्र बाजुङ गाउँको चिनारी’ गीतमा भने बाजुङमा रहेका विभिन्न आकर्षक कुराहरुलाई क्यामेरामा कैद गर्न लागिएको छ । धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन, भौगोलिक अवस्थालगायतका कुराहरु म्यूजिक भिडियोमा राख्न लागिएको निर्माण कम्पनी मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ ले बताउनुभयो । ‘हामीले दुई भिडियोको छायांकन गरेका छौँ। पहिलो गीतमा बाजुङको फलाल्नेमा रहेका गुरुङहरुको संस्कृति र परम्पराका विषयलाई उतार्न लागेका छौँ। जसले बाजुङ छाडेर गएका त्यहाँका गुरुङहरुलाई गाउँको सम्झना दिलाउने छ। अब जन्मिने नयाँ पुस्तालाई आफ्ना पुर्खाको अवस्थाको बारेमा जानकारी दिने छ,’ उहाँले भन्नुभयो, ‘दोस्रो भिडियोमा समग्र बाजुङको अवस्थिति, चलन, परम्परा, दिनचर्या लगायतको विषयमा सकेसम्म धेरै कुरा देखिने गरी छायांकन गरिएको छ। त्यो बाहेक यी दुवै गीतको छायांकनको रिपोर्ट बनाउने गरी तेस्रो क्यामेराबाट पनि सुट हुँदै छ।’
दुवै गीतको परिकल्पनाकार तथा लेखक दुर्गा गुरुङ “मिलन” हुनुहुन्छ भने गुरुङको चिनारी देखाउने गीतमा राखिएको गुरुङ भाषाको गीतमा सुवास गुरुङ (गणेश) को पनि शब्द रचना रहेको छ । मिलन नेवारले स्वर भरेको गीतको संगीतकार तथा एरेन्जर तेजेन्द्र गुरुङ हुन्। निर्देशक लब्सन गुरुङकै कोरियोग्राफीमा बन्न लागेको भिडियोमा नायिका उर्मिला गुरुङ र विश्वात्मा गुरुङ (शिशिमानु) को प्रमुख अभिनय रहने छ। प्रकाश गुरुङ (काश) को छायांकन रहेको भिडियोका लागि खुशी गुरुङ र देवी गुरुङ निर्माण व्यवस्थापक रहनुभएको छ ।
करिब १० लाखको लगानीमा गर्न लगानीमा निर्माण हुन लागेको गीतको छायांकन यही कात्तिक १९ गते सम्पन्न भएको थियो । छायांकनमा करिब ४५ जना जनशक्ति खटिएका थिए । मिलन डि.जी. इन्टरनेशनल प्रालिको ब्यानरबाट यस अगाडि नै “क्यु प्ह्रो छे” (भेडी गोठाले) नामक चलचित्र बनिसकेको छ । जसले आदिवासी जनजाति चलचित्र (मातृभाषी) अवार्ड २०७३ समेत पाएको थियो। त्यस्तै, सोही ब्यानरबाट बाजुङ भौगोलिक तथा साँस्कृतिक वृत्तचित्र, बाजुङ गीत (भौगोलिक र सांस्कृतिक) पनि निर्माण भइसकेका छन्।

Advertisment