अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी दुई दिने कार्यशाला

पोखरा, १५ मंसिर
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी युएनसीआरपीडीको निष्कर्ष सुझावको स्थानीय तहमा कार्यान्वयनको अवस्थासम्बन्धी दुई दिने कार्याशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ ।
गोष्ठीमा विभिन्न स्रोत व्यक्तिहरूले आ–आफ्नो विषयमा प्रस्तुती राखेका थिए । दुई दिनसम्म चलेको कार्यशाला गोष्ठीमा अपाङ्गता र आदिवासी जनजातिसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो ।
यसअघि, कार्यशाला गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले अपाङ्गताको क्षेत्रलाई विशेष ध्यान दिएको बताउनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका मुख्य सचिव सुजनकुमार लामा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी महासचिव नुनु रानामगर, राष्ट्रिय अपाङ्ग महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, श्रवण दृष्टिविहीन संघ नेपालका श्रीकान्त सापकोटाले अपाङ्गता र आदिवासी जनजाति अधिकारसम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
संघकी अध्यक्ष प्रतिमा गुरुङको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको सहभागिता रहेको थियो ।

Advertisment