प्रथम थकाली युवा राष्ट्रिय भेला पोखरामा सुरु

पोखरा, ७ पुस
थकाली युवा परिवार, केन्द्रको आयोजनामा प्रथम थकाली युवा राष्ट्रिय भेला एवं पाँच दिने नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण पोखरामा सुरु भएको छ ।
सो भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले थकाली युवाहरूलाई नेतृत्व विकास गर्दै अघि बढ्न अपिल गर्नुभयो । प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले आवश्यकता भन्दा बढी चाहना, लोभ र स्वार्थ नराख्न सुझाव दिनुभयो । सम्पत्ति भन्दा पनि विचार ठूलो भएको भन्दै उहाँले मरेर जाँदा सबै रित्तो जाने भनाइ राख्नुभयो ।
आफूले पदका लागि राजनीति नगरेको भन्दै प्रदेश प्रमुख शेरचनले गलत मनसाय र स्वार्थका पछि लागेर हालसम्म कुनै सम्झौता नगरेको र उप्रान्त पनि नगर्ने उद्घोष गर्नुभयो । नेपालको अल्पसंख्यक जातिका रुपमा रहेको थकाली जातिलाई एकीकृत र एकताबद्ध गर्नु आवश्यक रहेकोमा जोड दिँदै उहाँले आफ्नो संस्कार, संस्कृति, भाषा र भेषभूषा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
थकाली सेवा समिति, केन्द्रीय समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले विकासका नाममा मौलिक संस्कृति मासिँदै जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । थकाली जातिको जनसंख्या क्रमशः घट्दै जानु चिन्ताजनक विषय भएको भन्दै उहाँले जनसंख्या वृद्धिका लागि योजना बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । यस प्रशिक्षणले थकाली युवाहरू सक्षम र योग्य बन्ने विश्वास आफूले लिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षणका मुख्य प्रशिक्षक एवं अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल, थकाली युवा परिवारका केन्द्रीय सल्लाहकार कृष्णकुमार शेरचन, थकाली स्वास्थ्यकर्मी परिवारका केन्द्रीय अध्यक्ष विश्व शेरचन, थकाली महिला परिवारकी केन्द्रीय अध्यक्ष रीना भट्टचन, प्रभु बैंक, गण्डकी प्रदेश कार्यालयका प्रमुख शान्ति गौचन, थकाली सेवा समिति क्षेत्रीय समिति, पोखराका कार्यवाहक अध्यक्ष ई. रुजिन्द्र तुलाचन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर, नेपाल पत्रकार महासंघ, कास्की शाखाकी अध्यक्ष विमला भण्डारी, थकाली युवा परिवार, क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष ई. विजय शेरचनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
थकाली युवा परिवारका केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकल शेरचनले गर्नुभएको थियो । पुस ११ गतेसम्म सञ्चालन हुने भेला तथा प्रशिक्षणमा थकाली युवा परिवारको नियमावली पारित गर्ने एवं भाषा, धर्म, संस्कृति र भेषभूषा तथा नेतृत्व र व्यक्तित्व विकासबारे प्रशिक्षण हुने अध्यक्ष शेरचनले जानकारी दिनुभयो । अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहालले प्रशिक्षण दिने सो प्रशिक्षणमा झण्डै ७० जना थकाली युवा प्रशिक्षार्थीका रुपमा सहभागी छन् ।

Advertisment