बेलायतले सिंगापुर गोर्खाजमाथि भएको विभेदको क्षतिपूर्ति दिनुपर्छ ः प्रा.डा. गुरुङ

पोखरा, ११ वैशाख
भूतपूर्व सिंगापुर गोर्खाहरूले आफूहरूमाथि बेलायत सरकारले गरेको अन्याय र विभेदको क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् । आइतबार पोखरामा आयोजित अन्तरक्रियामा बोल्दै उनीहरूले गोर्खाहरूमाथि भएको अन्याय र विभेदप्रति माफी माग्दै क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा मानवशास्त्री प्रा.डा. ओम गुरुङले बेलायत सरकारले सिंगापुर गोर्खाजमाथि भएको विभेदको क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो), सिंगापुर गोर्खाज विभागद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. गुरुङले ब्रिटिश गोर्खाहरूमाथि जस्तै सिंगापुर गोर्खाजमाथि समेत गम्भीर विभेद भएको बताउनुभयो । बिगेसोका वरिष्ठ सल्लाहकार समेत रहनुभएका उहाँले सिंगापुर प्रहरीमा कार्यरत गोर्खाहरूबारे नेपाल सरकार बेखबर रहनु दुर्भाग्यपूर्ण रहेको भन्दै आफ्ना नागरिक कहाँ के गरिराखेका छन् भन्नेबारे सोधी खोजी नगर्ने सरकार निकम्मा भएको उल्लेख गर्नुभयो ।


सिंगापुर गोर्खाजमाथि भएको विभेद अन्त्य गर्न र न्याय दिलाउन बिगेसोले १६ बुँदे माग अघि सारेको भन्दै गुरुङले बेलायत, सिंगापुर र नेपाल सरकारलाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलनको जरुरी देखिएको बताउनुभयो । सडक आन्दोलन मात्र नभइ कानूनी लडाइँ समेत लड्न जरुरी रहेको भन्दै उहाँले सिंगापुर गोर्खाको मुद्दामा साथ दिन सञ्चारजगत्लाई समेत आग्रह गर्नुभयो । प्रा.डा. गुरुङले सिंगापुर गोर्खाजको मुद्दामा सरकार, राजनैतिक दल र सञ्चारजगतले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बूले बिगेसोले ब्रिटिश गोर्खाहरू मात्र नभइ सिंगापुर गोर्खाहरूमाथि भएको अन्याय र विभेदको विरुद्ध आवाज उठाएको बताउनुभयो । सशक्त रुपमा आन्दोलन अघि बढाउने तयारीमा रहेको बताउँदै उहाँले सिंगापुर गोर्खाजलाई न्याय दिलाउन सबैखाले संघर्षको रुप अपनाउने भनाइ व्यक्त गर्नुभयो ।
त्यस्तै, बिगेसो, सिंगापुर गोर्खाज विभागका अध्यक्ष पलबहादुर घर्तीले सिंगापुर गोर्खाहरूलाई नेपालले बेलायतलाई बेचेको र बेलायतले सिंगापुरलाई बेचेको बताउनुभयो । आफूहरूले अन्याय र विभेदका विरुद्ध आवाज उठाएको बताउँदै उहाँले आफूहरूको आन्दोलन एकदिन अवश्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिगेसोका महासचिव श्री खालिङ, सिंगापुर गोर्खाज विभागका उपप्रमुख मणिकुमार सुनुवार, सिंगापुर गोर्खाजका भूतपूर्व सीआई हरिध्वज गुरुङले समेत बोल्नुभएको थियो । सो अवसरमा सहभागी सिंगापुर गोर्खा र तिनका परिवारका सदस्यले विभिन्न जिज्ञासा र प्रश्न राखेका थिए ।
यसैबीच, बिगेसो, सिंगापुर गोर्खाज विभागले पोखरा शाखा गठन गरेको छ । जसको अध्यक्षमा विश्वमान गुरुङ, उपाध्यक्षमा प्रवीणकुमार थापा, सचिवमा भीमबहादुर पुन, सह–सचिवमा मीनबहादुर गुरुङ, कोषाध्यक्षमा युवराज गुरुङ र सह–कोषाध्यक्षमा प्रताप राना रहनुभएको छ । त्यसैगरी, पोखरा शाखाका सदस्य एवं सल्लाहकार समेत चयन गरिएको छ ।

Advertisment