पोखरामा चलचित्र ‘मीसार’को विशेष प्रदर्शन

पोखरा, १२ जेठ
मगर संस्कृतिमा आधारित चलचित्र “मीसार”को बिहीबार पोखरामा विशेष प्रदर्शन गरिएको छ । यसअघि, वैशाख १ गते तनहुँको भिमादमा प्रिमियर शो गरिएको सो चलचित्रको पोखरामा दोस्रो पटक भीआईपी शो सम्पन्न गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटेमगरले जानकारी दिए ।
एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखराको मिडटाउन सिनेमाजमा भएको विशेष प्रदर्शनमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति र कलाकार चलचित्र हेर्नका लागि सहभागी भएका थिए । गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, कास्कीका जिल्ला सचिवालय सदस्य गोविन्द पुनमगर, मगर चलचित्रकर्मी संघ नेपाल, गण्डकी प्रदेशका संयोजक राहुल थापामगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरलगायतको उपस्थिति रहेको थियो ।
चलचित्र हेरिसकेपछि आएको दर्शकको प्रतिक्रियाले आफू उत्साहित बनेको नायिका सनम आलेमगरले बताइन् । आफ्नो पहिलो डेब्यू चलचित्र भएपनि दर्शकबाट पाएको हौसलाले आफूलाई आगामी चलचित्रमा पनि काम गर्ने सोंच बनाएको अर्की नायिका जेनिता थापामगरले बताइन् । त्यस्तै, नायक देवेन्द्र थापामगरले दर्शकले चलचित्रलाई मन पराइदिएको र चलचित्रमार्फत् आफूहरूले विशेष सन्देश दिन खोजेको बताए ।
म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा सन्तोष पिठाकोटे मगर (शेरबहादुर पिठा मगर) को कथा, छायाँकन, सम्पादन र निर्देशनमा चलचित्र ‘मीसार’ निर्माण भएको हो । चलचित्रमा भेष गुरुङ र सुजन थापामगरले सहनिर्देशनको भूमिका निर्वाह गरेका छन् । चलचित्रको निर्मातामा गोबिन्द थापामगर, सविता थापामगर, मर्साङ्गी ब्रदर्श (हङकङ), कोटबहादुर बाचे मगर, मुक्त गुरुङ, प्रेममाया आलेमगर र पवित्रा थापामगर रहेका छन् ।
चलचित्रमा देवेन्द्र थापा तुमसिंमगर, सनम आलेमगर, जेनिता थापामगर, दिपु मगर, प्रतीक्षा रानामगर, रविन्द्र थापामगर, भेष गुरुङ, भेषबहादुर पिठाकोटे मगर, कोटबहादुर बाचेमगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेममाया आलेमगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ । यस्तै, रमेशबाबु थापा मगर, पदम थापामगर, चेतन रजालीमगर र गगन गुरुङको शब्द र संगीत रहेको चलचित्रको गीतमा पवन रानामगर, अम्बिका पुनमगर, प्रसाद खप्तरीमगर, प्रीती आलेमगर, गगन गुरुङ, रेशम आलेमगर, याम सारुमगर र उषा गुरुङले स्वर दिएका छन् ।
चलचित्रको नृत्य निर्देशनमा राहुल थापा मगर, सर्जन थापा मगर, केशव आले मगर र गोविन्द पुन मगर छन् । चलचित्रको कलरिङ, मिक्सिङ र डबिङ छवी राना मगरले गरेका छन् । मगर संस्कार र संस्कृतिमा आधारित सो चलचित्र नेपाली र मगर भाषामा एकैसाथ निर्माण गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।

Advertisment