मगर महिला संघको सातौं महाधिवेशनको तयारी पूरा

पोखरा, २१ जेठ
नेपाल मगर महिला संघको भोलीदेखि पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।
संघले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघकी अध्यक्ष विनिता आलेमगरले महाधिवेशनमा देशभरिबाट २ सय ५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जानकारी दिनुभयो ।
लैंगिक समानता र जातीय पहिचानका लागि मगर महिला संघले निरन्तर संघर्ष गर्दै आएको बताउँदै उहाँले महाधिवेशनले महिला अधिकार र जातीय पहिचानका सवालमा समयसापेक्ष नीति बनाउने उल्लेख गर्नुभयो । राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि आफूहरूले निरन्तर खबरदारी गरिरहेको जनाउँदै अध्यक्ष आलेमगरले मगर महिलाका लागि महाधिवेशन ऐतिहासिक बन्ने दाबी गर्नुभयो ।
त्यस्तै, संघकी उपाध्यक्ष हिरुसरा रानामगरले देशका ५६ जिल्लामा संघको विस्तार भएको जनाउँदै बाँकी जिल्लामा पनि संगठन विस्तारको तयारी भइरहेको बताउनुभयो । महासचिव धनकुमारी रानामगरले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी मगर समुदायको भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्ने ठोस योजना निर्माण गरिने जानकारी दिनुभयो । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिनेछ भने महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि पोखरामा आएका छन् । उद्घाटनसत्र अघि, नेपाल मगर संघ, कास्कीको कार्यालय, रामघाटबाट सांस्कृतिक झाँकीसहितको ¥याली पोखरा सभागृहमा पुगी कार्यक्रममा परिणत हुने अध्यक्ष आलेमगरले जानकारी दिनुभयो ।

Advertisment