संस्कृति जोगाउन ‘मगर भेजा समाज नेपाल’को स्थापना

काठमाडौं, १८ असार
नेपालको विभिन्न क्षेत्रमा स्थापित मगर समुदायका अगुवाहरूको सक्रियतामा मगर जातिको संस्कृति जोगाउन “मगर भेजा समाज नेपाल” नामक संस्थाको स्थापना गरिएको छ ।
नेपाल प्रहरीकी पहिलो महिला प्रहरी नायब महानिरीक्षक (डीआईजी) पार्वती थापामगरको अध्यक्षतामा गठन गरिएको उक्त संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हालै मात्र दर्ता गरिएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहने गरी दर्ता गरिएको उक्त संस्थाको कार्यालय तारकेश्वर नगरपालिका–९, इन्द्रायणी पुल नजिकै एञ्जल्स स्पोर्टस् एकेडेमीमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको छ ।


समाजका ज्येष्ठ नागरिक मैयाँ गेलाङमगरबाट कार्यक्रम उद्घाटन गरिएको समाजका उपाध्यक्ष एवं एञ्जल्स स्पोर्टस् एकेडेमीका अध्यक्ष खिमबहादुर थापामगरले जानकारी दिनुभयो । मगर समुदायको भाषा, भेषभूूषा–संस्कृति र परम्परासँग नयाँ पुस्तालाई जोड्दै भेजा विरासतलाई पनि जोगाउनु संस्थाको मुख्य उद्देश्य रहेको उपाध्यक्ष थापामगरले बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष पार्वती थापामगरले मगर संस्कृति, परम्पराको जगेर्नाका साथै समाजमा हुने हत्या तथा हिंसा न्यूनीकरणका लागि चेतना फैलाउन समेत यस समाजले काम गर्ने बताउनुभयो । कार्यक्रममा मगर इतिहास तथा मगर भेजा प्रणालीबारे ऐतिहासिक जानकारीका साथै कलाकारहरूले थाली नाच, सोरठी, कौरा, हुर्रा नाच, यानीमाया, सालैजो आदिको प्रस्तुत गरेको समाजकी महासचिव तारादेवी थापामगरले जानकारी दिनुुभयो ।
के हो मगर भेजा ?
मगर शब्दकोश अनुसार “भेजा”को अर्थ यसरी अथ्र्याइएको छ, “गुठी, मण्डली, गाउँको सामाजिक पूजा आदिका लागि धार्मिक कार्यमा सामूहिक रुपले घर घरबाट उठाउने रकम, सिदा, दक्षिणा, मण्डली पूजा आदि । गाउँको सुख, शान्ति र सबैको समुन्नतिका लागि गरिने वार्षिक दुुई वटा भेजा, वैशाखे पूर्णे र मंसिरे पूर्णेका दिन गाउँलेहरू मिलेर गरिने भेजा, गुठी पूजा ।”
मगर समुदायभित्र कुनै किसिमको पूूजा–आजा, झारा–पर्म, निर्माण, मर्मत, स्याहार सम्भार आदि कार्यको फच्चेको लागि प्रत्येक घरधुरीलाई समान दरले सशुल्क वा निःशुल्कमा लाग्ने, लगाउने हिस्सा वा अंशलाई भेजा भनेर बुझिन्छ । एक हिसाबले यो भेजा मौलिक सहकारी प्रणाली पनि हो ।

Advertisment