मगर संघ, रामबजार एकाइको २० औं वार्षिक साधारणसभा सम्पन्न

मीना थापामगर
पोखरा, २५ असार
नेपाल मगर संघ रामबजार इकाई समितिको २०औं साधारणसभा आज सम्पन्न भएको छ । संघको आफ्नै भवन रामबजारमा सम्पन्न भएको सभाको उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष संगीता पुन मगरले गर्नुभएको थियो । सभाको उद्घाटन गर्दै पुन मगरले आजको बदलिदो परिस्थितिसँगै मगर समुदाय पनि परिवर्तित हुनुपर्ने कुरामा जोड दिनुभयो । समाज परिवर्तको लागि शैक्षिक, राजनीतिक र व्यवसायिक चेतनाको स्तर बृद्धि हुनु जरुरी रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नंं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाले समुन्नत राष्ट्र निर्माणको लागि समुदाय विभाजित भएर होइन एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । साथ उहाँले पूर्वाधार विकासले मात्र देश विकास असम्भव भएकोले अबको समय मानविय चेतनाको विकासमा जोड दिने खालको कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।


यसैगरी, जिल्ला शिक्षा कार्यालय कास्कीका पूर्व उपसचिव गगनसिंह थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर, नेपाल मगर महिला संघ रामबजार इकाई समितिका अध्यक्ष लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सारधारण सभामा नेपाल मगर संघ रामजार इकाई समितिका सचिव क्या. अमर बहादुर राना मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सु. सन्त बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी, नेपाल मगर महिला संघ रामजबारको सांगठनिक प्रतिवेदन सचिव रेनु थापामगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता आलेमगरले प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी, नेपाल मगर युवा संघ, रामबजारको सांगठनिक प्रतिवेदन सचिव दिलबहादुर वीरकट्टामगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ति थापामगरले प्रस्तुत गर्नुभएको थियो । भलाई कोषको गतिविधिको बारेमा चित्रबहादुर थापामगरले र आर्थिक प्रतिवेदन ना.सु. खुमबहादुुर थापामगरले प्रस्तुत गर्नुभएको थियो । यसैअबसरमा प्लस टु देखि उच्च शिक्षा हासिल गर्ने समाजका विद्यार्थीहलाई सम्मान गरिएको थियो भने ८० वर्ष नाघेका बृद्धाबृद्धालाई खादा सम्मन पत्र र लौरो उपहार दिएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ रामबजार इकाई समितिद्वारा निर्माण गरिएको सालैजो म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । संघका कार्यवाहक अध्यक्ष सुधा थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव क्या. अमरबहादुर रानामगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला संघका अध्यक्ष लक्ष्मी थापामगरले राख्नुभएको थियो ।

Advertisment