“कञ्चन पत्रकारिता पुरस्कार–२०७९” का लागि प्रतिभा छनौट समिति गठन

पोखरा, २७ असार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशद्वारा सञ्चालित “कञ्चन पत्रकारिता पुरस्कार–२०७९”का लागि प्रतिभा छनौट समिति गठन गरिएको छ ।
समाजसेवी एवं व्यवसायी विमलमान गुुभाजूू र उहाँको परिवारद्वारा बुुबा स्व. वेदमान गुुभाजूू र आमा स्व. नेत्रकुमारी गुुभाजूूको पुण्य स्मृतिमा स्थापित सो पुरस्कारका लागि नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरको संयोजकत्वमा पाँच सदस्यीय छनौट समिति गठन गरिएको हो ।
पोखरा–२५, सुुइखेतस्थित सुुइखेत रिभर भ्याली रिसोर्टमा शनिबार सम्पन्न फोनिज, गण्डकी प्रदेशको बैठकले छनौट समिति गठन गर्ने निर्णय गरेको महासचिव धनबहादुर गुरुङ (सुमन)ले जानकारी दिनुुभयो । छनौट समितिका सदस्यहरूमा शान्ति गुरुङ, एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगर र महासचिव धनबहादुर गुरुङ (सुमन) रहनुुभएको छ । सो पुरस्कार आगामी साउन २७ गते फोनिजको २२ औं स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका दुुई जना आदिवासी जनजाति पत्रकारलाई जनही २५ हजार नगदसहित प्रदान गरिने जनाइएको छ । यस पुरस्कारबाट यसअघि, रूद्रबहादुर थापामगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ र केबी रानामगर पुरस्कृत भइसक्नुुभएको छ ।


यसैबीच, बैठकले फोनिजको २२ औं स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न सचिव सुशान्त गाहामगरलाई संयोजकको जिम्मेवारी तोकिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र सञ्चारिका समूह, गण्डकीसँग फोनिज, गण्डकी प्रदेशले मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको हो । त्यसैगरी, फोनिज, गण्डकीले स्थापना दिवसको अवसरमा लेखनवृत्ति प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ । लेखनवृत्तिको लागि पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको छ ।
फोनिज, गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको बैठकमा फोनिज, गण्डकी प्रदेशका निवर्तमान इञ्चार्ज हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष एमबी आस्था मगर, पुरस्कारका संस्थापक विमलमान गुुभाजूूले विभिन्न सुुझाव दिनुुभएको थियो ।

Advertisment