‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीस पुरस्कृत

पोखरा, २९ असार
यस वर्षको “कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७९”बाट पत्रकार रूद्रबहादुर श्रीसमगर पुरस्कृत हुनुुभएको छ ।
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार आदिवासी जनजातिको समुत्थानका साथै पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै फोनिज, गण्डकीका अध्यक्ष समेत रहेका श्रीसमगरलाई सो सम्मान प्रदान गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङ, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरूङ, पुरस्कार संस्थापक कर्म गुरुङ र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त रुपमा १० हजार रुपैयाँ नगद सहित गुरूङ जातिको पहिचान झल्काउने भांग्रा र सम्मानपत्र सहित श्रीसमगरलाई पुरस्कृत गरिएको थियो ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले विश्वको राजनितीक, सामाजिक, आर्थिक जस्ता परिवर्तनमा पत्रकारको कलमको अहम् भुमिका रहेको बताउनुभयो । “युद्वमा प्रयोग हुने बन्दुक भन्दा पत्रकारले प्रयोग गर्ने कलममा ठुलो शक्ति छ, जसले विश्व हल्लाउन सक्छ,“ उहाँले भन्नुभयो । पत्रकारिताका माध्यमबाट समाजमा सचेतना र विकासमा महत्वपूर्ण योगदान दिने भन्दै पत्रकारिताको विकासमा गण्डकी प्रदेशको तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै पोखरा महानगरपािलकाका उपप्रमुख मञ्जुदेवी गुरूङले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने वताए । पुरस्कृत ब्याक्तित्व नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगरले आदिवासी जनजातिहरूको मौलिक संस्कारको जर्गेना गर्नु हामी सबैको कर्तव्य रहेको भन्दै आफ्ना कला, संस्कृतिलाई समेत कर्म बनाएर कलम चलाउदा आनन्दको महसुस गर्नेगरेको बताउनुभयो । जनजातिहरुको पक्षमा रहेर सञ्चारमाध्यमहरुले समाचार सम्प्रेसण गर्नुपर्ने भन्दै त्यसप्रति जनजाति पत्रकारहरु अझ सशक्त ढंगले अगाडि बढ्न उहाँको आग्रह थियो ।
पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न पाइरहेको भन्दै यस पुरस्कारले पुरस्कृत पत्रकारहरूको कलम चलाइमा थप हौसला थप्न मदत पुगोस् भन्ने आशा व्यक्त गर्नुभयो ।
उक्त अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान तथा बधाई ज्ञापन समेत गरिएको थियो ।
कर्म–कर्ण पुरस्कारका लागि तमु धिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरिएको थियो । जसमा पत्रकार दीपेन्द्र श्रेष्ठ, एमबी आस्था मगर, अधिवक्ता जुनाकुमारी गुरुङ र फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङ सदस्य रहनुुभएको थियो । यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसक्नुुभएको छ । फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले गर्नुभएको थियो ।

Advertisment