बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा पुनः थापा सर्वसम्मत

पोखरा, २८ साउन
बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा सु.मे. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरीदेवी थापामगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा चन्द्रकली थापामगर, सु.मे. रामबहादुर थापामगर, सु.मे. सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर रहनुभएको छ । निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि निर्वाचन मण्डल संयोजकमा क्या. मीनबहादुर पुनमगर र सदस्यद्वयमा रामबहादुर पुनमगर र माया थापामगर रहनुभएको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जातिलगायतका आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको बताउनुभयो । पारस्परिक सहयोग आदानप्रदानका लागि समाजको स्थापनाले धेरै सहज बनाउने उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यक्तित्व र नेतृत्व विकासमा समेत समाजले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदमबहादुर पुनमगर, जैमिनी नगरपालिका वडा नं. १०, बागलुङका पूर्व वडाध्यक्ष नरबहादुर थापामगर, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकारहरू क्या. मीनबहादुर पुनमगर, भीमबहादुर श्रीसमगर, रामबहादुर पुनमगर, सल्लाहकारहरू किरणप्रसाद थापामगर, कोपिला श्रीसमगर, पूर्व सल्लाहकार ढकबहादुर पुनमगर, धौलागिरि टोल विकास संस्थाकी सचिव पूजा खनाल भट्टराई, समाजका उपाध्यक्ष सु.मे. चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगरलगायतले बोल्नुभएको थियो ।
यसैबीच, साधारणसभाले सचिव रूद्रबहादुर श्रीसमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरको अध्यक्षतामा बन्दसत्र सञ्चालन भएको थियो ।

Advertisment