तमु कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी.को सम्मान

पोखरा, ७ भदौ
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले बधाई ज्ञापन तथा सम्मान गरेको छ । मिलन डी.जी. इन्टरनेशनल प्रालिको आयोजना तथा मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्यूज र मिलन ट्रष्टको सह–आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित तमु कलाकार संघ, गण्डकीका पदाधिकारी र कार्यसमिति सदस्यलाई सम्मान गरिएको हो । सो अवसरमा सम्मान गर्दै नेकपा (माओवादी केन्द्र), गण्डकी प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङ “कुसुम”ले तमु कलाकारलाई गरिएको सम्मान तमु कला, संस्कृतिको संरक्षणका लागि जिम्मेवारी दिएको रुपमा लिनुपर्ने बताउनुभयो । अब नीतिगत कुरा मात्र नभइ व्यवहारमा काम हेर्न चाहेको जनाउँदै उहाँले समृद्धि भनेको बाटो बन्नु मात्र नभएको बताउनुभयो । कला, संस्कृतिको संरक्षण र विकासले मात्र समृद्धिलाई सार्थक बनाउने भन्दै प्रमुख सचेतक गुरुङले कला, संस्कृतिको संरक्षणमा तमु कलाकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गण्डकी प्रदेश सरकार समृद्धिको यात्रामा रहेको भन्दै गुरुङले सर्वाङ्गीण विकासका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।


त्यस्तै, सम्मानितको तर्फबाट बोल्दै तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको दुःख, सुखमा तमु कलाकार संघ सधैं साथमा रहेको बताउनुभयो । समाजसेवी दुर्गा गुरुङ “मिलन” र मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले तमु कलाकार संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङले यो सम्मानले थप हौसला र जिम्मेवारी थपिएको बताउनुभयो । तमु जातिको कला, संस्कृतिको संरक्षण र विकृति, विसंगतिको अन्त्यका लागि तमु कलाकार संघ, गण्डकीले विशेष जोड दिएको उहाँले बताउनुभयो । मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मिलन डी.जी. इन्टरनेशनल प्रालिका मिडिया संयोजक रूद्रबहादुर श्रीसले पनि बोल्नुभएको थियो ।
हाल हङकङमा रहनुभएका समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन फाउण्डेशन नेपालमार्फत् नेपालको शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समाजसेवी गुरुङले सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ मिलन ट्रष्ट समेत स्थापना गर्नुभएको छ ।

Advertisment