सफल उद्यमी शान्ति श्रीसको फेरिएको परिचय, अब गायिका र मोडल

पोखरा, ३१ असोज
पोखराकी स्थापित उद्यमी हुनुहुन्छ, शान्ति श्रीसमगर । पोखरा–८, सुन्दरमार्गमा बुटिक सञ्चालन गरेर व्यवसायिक सफलता हासिल गर्नुभएकी उद्यमी श्रीसको खास परिचय सफल उद्यमी हो, व्यवसायी हो । तर, अब उहाँको परिचय फेरिएको छ । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्ष समेत हुनुहुन्छ ।
अब उहाँ एउटी गायिका र मोडलका रुपमा समेत अगाडि आउनुभएको छ । पोखराकी सफल उद्यमी श्रीसले आफ्नै स्वरमा “फूल जस्तै मेरो जोवन” बोलको गीत बजारमा ल्याउनुभएको छ । पहिलोपटक गायनमा डेब्यू गर्नुभएकी श्रीसले मोडलिङमा पनि डेब्यू गर्नुभएको छ । सो गीतको म्यूजिक भिडियोमा नायक पुष्प खड्काको जोडीका रुपमा उहाँले अभिनय गर्नुभएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ११, सानो रिघामा जन्मनुभएकी गायिका श्रीसको अहिले पोखरा महानगरपालिका वडा नं. ४, गैह्रापाटनमा स्थायी बसोबास छ । श्रीमान प्रमोद थापा पनि गायन, वाद्यवादन र गीत लेखनमा उत्तिकै पोख्त हुनुहुन्छ । श्रीमानको अविचलित साथ र सहयोगले नै आफू अहिलेको स्थानसम्म आइपुगेको उहाँको भनाइ छ । “म मेरो श्रीमान र परिवारको साथका कारण नै यहाँसम्म आइपुगेकी हुँ”, उहाँ भन्नुहुन्छ, “मेरो व्यवसायिक यात्रा मात्रै होइन, सांगीतिक यात्राका लागि समेत परिवारको ठूलो साथ पाएकी छु ।” ग्राहक र शुभचिन्तकले व्यवसायिक यात्रामा साथ दिएजस्तै सांगीतिक यात्रामा पनि दर्शक, स्रोताको माया पाउने विश्वास उहाँले गर्नुभएको छ ।
गायिका श्रीसको पहिलो म्यूजिक भिडियोको लोकार्पण गर्दै वरिष्ठ गायिका बाबा राणाले भन्नुभयो, “शान्ति अब एउटी उद्यमी मात्रै होइन, गायिका भइन्, मोडल भइन् ।” पहिलो गीत भएपनि श्रीसको गायकीबाट आफू प्रभावित भएको भन्दै वरिष्ठ गायिका राणाले गायन क्षेत्रमा शान्तिले निकै प्रगति गर्न सक्ने सम्भावना आफूले देखेको बताउनुभयो । गीतको समीक्षा गर्दै गायक विनोद बानियाँले सबै हिसाबले गीत राम्रो बनेको बताउनुभयो । गीत राम्रो चल्न सक्ने खालको बनेको भन्दै गायक बानियाँले डेब्यू गायन भएपनि श्रीसले राम्रो गाएको उल्लेख गर्नुभयो ।
त्यस्तै, गायिका श्रीसको आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको लोकार्पण कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ, कास्की शाखाकी अध्यक्ष विमला भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था मगर, अध्यक्ष रूद्रबहादुर श्रीसमगरलगायतले श्रीसको गायन र मोडलिङ यात्राको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दुर्गा रानाले गर्नुभएको थियो । 

Advertisment