आयो स्वरुप र शान्तिको ‘जून तारा’

पोखरा, २१ वैशाख
गायक स्वरुपराज आचार्य र गायिका शान्ति श्रीसको कौराहा गीत “जून तारा”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्ति श्रीस मगर युट्युब च्यानलमार्फत् उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
सुगम संगीतमा जमेका गायक स्वरुपराजले लोकगीतमा समेत आफूलाई स्थापित बनाएका छन् । पछिल्लो पटक कौराहा गीतमा उनले स्वर दिएका हुन् । त्यस्तै, पोखराको व्यवसायमा स्थापित शान्तिले छोटो समयमा गायन र मोडलिङमा आफूलाई स्थापित बनाएकी छिन् । यस गीतमा स्वरुप र शान्तिलाई गायिका रुपी सिंजाली र प्रतिमा विकले साथ दिएका छन् ।
गीतको लय र शब्द सुरेश रानाको हो भने कृष्ण विकले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीको ध्वनि मिश्रण, कमल थापा र गोविन्द अनेकको रेकर्डिङ रहेको छ । मौसम हिमालीको निर्देशन रहेको म्यूजिक भिडियोमा विशाल घिमिरेको सह–निर्देशन रहेको छ । भिडियोमा मोडल विजय पुन, अश्विन मगर, गीता ढुंगाना र गायिका शान्ति आफैंले अभिनय गरेका छन् ।
पवन सुस्लिङको छायांकन रहेको म्यूजिक भिडियोमा नवीन घर्तीमगरको दृश्य सम्पादन र रङ संयोजन एवं सरिता प्रजापतिको कला संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङमा गीत रेकर्ड गरिएको हो भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन एड्भेञ्चर इन्टरटेनमेन्टमा गरिएको हो ।
गायिका शान्ति श्रीसले आफ्नो दोस्रो सांगीतिक कोसेलीका रुपमा सार्वजनिक गरेकी यस कौराहा गीतले छोटो समयमै दर्शक, स्रोताको राम्रो प्रशंसा बटुल्न सफल भएको छ । यसअघि, उनले पहिलो सांगीतिक कोसेलीका रुपमा “फूलजस्तै मेरो जोवन” बजारमा ल्याएकी थिइन् । सुगम संगीतबाट सुरु भएको उनको गायनयात्रा लोक गायनतिर अघि बढिरहेको छ ।

 

Advertisment