सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याएका छन् ः उपसभामुख थापा

पोखरा, २३ पुस
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट नतिजा ल्याउन सक्ने बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३, उपल्लो पुँडीस्थित जनजागृति आधारभूत विद्यालयको ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै उपसभामुख थापाले सामुदायिक विद्यालयलाई कमजोर ठान्न नहुने उल्लेख गर्नुभयो । सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याएको थुप्रै उदाहरण रहेको भन्दै उहाँले अंग्रेजी माध्यममा पढाइ नहुँदैमा कमजोर भन्न नहुने बताउनुभयो । उपसभामुख थापाले सामुदायिक विद्यालयकै गुणस्तर सुधार गरेर देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामबहादुर पुनले वार्षिक प्रगति प्रतिवेदन र भावी योजनाबारे आफ्नो भनाइ राख्नुभएको थियो ।

त्यस्तै, कार्यक्रममा एसओएस सामाजिक सेवा केन्द्रका अध्यक्ष राजेन्द्र रेग्मी, सेतीखोला जलविद्युत आयोजनाका प्रमुख उज्ज्वल रेग्मी, नेकपा (माओवादी केन्द्र)का वडा कमिटी अध्यक्ष श्रीभद्र पराजुली, नेकपा (एमाले)का वडा कमिटी उपसचिव शंकर अधिकारी, कालिका माविका शिक्षक नारायणप्रसाद चापागाईं, शुक्लागण्डकी आधारभूत विद्यालयका प्रधानाध्यापक आनन्दराज पौडेलले वडा र विद्यालयको शैक्षिक अवस्थाबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो । सो अवसरमा विद्यालयका शिक्षक र विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका थिए भने अभिभावक र विद्यार्थी विभिन्न खेलमा सहभागी भएका थिए । त्यसैगरी, कार्यक्रममा विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

 

Advertisment