भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन

भिमाद, १६ चैत्र
नेपाल मगर संघ, भिमाद नगर समिति, तनहुँको आयोजनामा सोमबारदेखि सुरु भएको मगर भाषा, अख्खा लिपि तथा संस्कारसम्बन्धी पाँच दिने तालिमको शुक्रबार समापन गरिएको छ ।
भिमाद नगरपालिकाको सहयोगमा सुरु भएको सो तालिमको समापन गर्दै नगर उपप्रमुख शारदा खनालले मगर भाषाले समृद्ध भिमाद निर्माणका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । मगर भाषालगायत नगर क्षेत्रमा बोलिने अन्य मातृभाषाको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मातृभाषा र संस्कृति जोगाउन समुदाय पनि जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।


भिमाद नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रनबहादुर थापामगरले भिमाद मगर समुदायको बाहुल्यता भएको नगर क्षेत्र भएको उल्लेख गर्दै भाषा, संस्कृति संरक्षणका लागि समुदाय जागरुक भए स्थानीय सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकृष्ण रानामगरले मगर समुदायले क्षमता विकास गर्दै हरेक क्षेत्रमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय, भिमादका प्रमुख, प्रहरी नायब निरीक्षक उदयराज पौडेल, प्रशिक्षणका मुख्य प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, अर्का प्रशिक्षक एवं वापा रिबहादुर रानामगर, प्रशिक्षार्थी पञ्चकुमार थापामगर, सुनिता मास्कीमगरलगायतले मगर भाषा, अख्खा लिपि र संस्कारका बारेमा बोल्नुभएको थियो ।
नेपाल मगर संघ, भिमाद नगर समितिकी अध्यक्ष मनमाया आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रवि थापामगर र उपाध्यक्ष याममाया थापामगरले स्वागत गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा मगर भाषा तथा अख्खा लिपिसम्बन्धी विषयमा मुख्य प्रशिक्षक रूद्रबहादुर श्रीसमगर र मगर संस्कारसम्बन्धी विषयमा प्रशिक्षक रिबहादुर रानामगरले सहजीकरण गरेको सचिव रवि थापामगरले जानकारी दिनुभयो । प्रशिक्षणमा भिमाद नगरपालिकाका ९ वटै वडाको प्रतिनिधित्व हुने गरी ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

 

Advertisment