बागलुङ समाज पोखराको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा, १ वैशाख
बागलुङ समाज पोखरा र बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रममा बागलुङ क्षेत्र नं. २ (क) का गण्डकी प्रदेशसभा सदस्य जीत शेरचन, क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीलगायतका अतिथिहरूले भित्तेपात्रो लोकार्पण गर्नुभएको थियो । सो अवसरमा प्रदेशसभा सदस्य शेरचनले सबै नेता खराब नभएको बताउनुभयो । सबै नेता र राजनीतिक दल खराब भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै शेरचनले देश बिग्रनुमा नेता मात्रैको दोष नरहेको जिकिर पनि गर्नुभयो । पोखरामा रहेका बागलुङेहरूले आफ्नो थातथलोलाई बिर्सन नहुने बताउँदै उहाँले जहाँ रहे पनि आफ्नो पुख्र्यौली थलोको बारेमा नयाँ पुस्तालाई समेत जानकारी दिनुपर्ने भनाइ राख्नुभयो । साथै, उहाँले नयाँ वर्षले सबैमा सकारात्मक संकल्प लिने प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिनुभयो ।


कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, समाजका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा, पूर्व अध्यक्षहरू प्रा. अमृतलाल श्रेष्ठ, प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, सुनिल पाण्डे, डा. भानु कँडेल, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम आचार्य, समाजका कानूनी सल्लाहकार अधिवक्ता दुर्गेशराज पन्त, बागलुङ धम्जा–पोखरा सम्पर्क समाजका अध्यक्ष खिम छन्त्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर पुन र उपाध्यक्ष नरेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

Advertisment