केन्पो खुकुरीको केन्द्रीय प्रशिक्षक प्रशिक्षण भदौ १ गतेदेखि बुटवलमा

काठमाडौं, ३० साउन
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आगामी भदौ १ गतेदेखि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा हुने भएको छ ।
संघको यसअघि, बसेको केन्द्रीय पूर्ण बैठकले बुटवलमा प्रशिक्षक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो । प्रशिक्षणमा सातै प्रदेशबाट प्रशिक्षकहरू प्रशिक्षणका लागि सहभागी हुने संघका अध्यक्ष पूर्ण पाण्डेले जानकारी दिनुभयो ।
प्रशिक्षणमा सहभागी हुनका लागि सहभागीहरू साउन ३२ गते नै बुटवल पुग्ने समेत उहाँले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हुने प्रशिक्षण अघि साउन ३२ गते पत्रकार सम्मेलनको आयोजना समेत गरिएको संघका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
भदौ ७ गतेसम्म हुने प्रशिक्षण पश्चात् संघले प्रदेश, जिल्ला र स्थानीयस्तरमा संगठन विस्तारसँगै प्रशिक्षण अभियान सञ्चालन गर्ने जनाइएको छ । सातै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा संगठन विस्तारको लक्ष्य लिएको संघले खेलाडी उत्पादनमा विशेष जोड दिएको छ ।

Advertisment