तनहुँको बन्दीपुर र रिसिङका पहिरोपीडितलाई लाफा रुङ फाउण्डेशनको राहत

दमौली, ३१ साउन
लाफा रुङ फाउण्डेशनले तेस्रो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका र रिसिङ गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरेको छ ।
अविरल वर्षाका कारण बाढीपहिरोमा परी घरबारविहीन बनेका बन्दीपुर गाउँपालिकाका ३१ घरपरिवार र रिसिङ गाउँपालिकाका २६ घरपरिवारलाई फाउण्डेशनको तर्फबाट राहत वितरण गरिएको लाफा रुङ फाउण्डेशनकी सञ्चालक चन्द्रज्योति आलेले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा र रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतका स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको सञ्चालक आलेले बताउनुभयो ।


बन्दीपुर र रिसिङमा छुट्टाछुट्टै स्थानमा भएको राहत वितरण कार्यक्रममा फाउण्डेशनका सञ्चालक आलेसहित अर्का सञ्चालक रक्षाबहादुर रैका, लाफा ग्रुप लिमिटेडका सञ्चालक जंगबहादुर थापा, लाफा ग्रुपकी संस्थापक शेयर सदस्य एवं नेपाल मगर महिला संघकी अध्यक्ष विनिता आले, नेपाल मगर सांस्कृतिक संघका संगठन सचिव निर आलेलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा आफूहरूले थोरै भएपनि पीडामा मल्हम लगाउने प्रयास गरेको जनाउँदै लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेले फाउण्डेशनको यस अभियानमा सहयोग गर्ने देश तथा विदेशमा सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद दिनुभयो ।
लाफा रुङ फाउण्डेशनले तनहुँको म्याग्दे गाउँपालिकाका बाढीपहिरो पीडितको वास्तविक जानकारी आएपछि त्यहाँ पनि राहत वितरण गरिने जनाएको छ । फाउण्डेशनले देशका विभिन्न भागमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवार र घरबारविहीन बनेका परिवारका लागि पीडामा मल्हम लगाउने काम गरिरहेको छ । यसअघि, फाउण्डेशनले सिन्धुपाल्चोक, मनाङ, नवलपुर, चितवन, काठमाडौंलगायतका स्थानमा राहत वितरण गरिसकेको छ ।

Advertisment