बुटवलमा जारी एक हप्ते केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण सकियो

बुटवल, ७ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको आयोजनामा एक हप्ते केन्द्रीय केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा पहिलोपटक सो प्रशिक्षणको आयोजना गरिएको हो ।
प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराइएको बताउनुभयो । नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेले प्रशिक्षणमा चार विधाको बारे प्रशिक्षकहरुलाई सीप क्षमता सिकाइएको भन्दै थप विधाहरु विस्तार गरिने बताउनुभयो ।
आगामी असोजमा काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा छनौटमा परेका खेलाडीहरुलाई आवश्यक सहयोग गरिने उहाँले बताउनुभयो । प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र यो एउटा महत्वपूर्ण प्रतियोगिता गराउने उहाँले बताउनुभयो । खेलमा नाम नै खुकुरी राखेर एउटा पहिचान नेपालीको पहिचान गराउने गरि अगाडि बढेको उहाँले बताउनुभयो । असोज ८ र ९ गते हुने प्रतियोगिताका लागि प्रशिक्षण सहयोगी हुने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १ लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । दोस्रो २५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो । फ्रान्सबाट शुरु भएको यो खेलमा करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने बताउनुभयो । प्रशिक्षक राजकुमार पाण्डेले एक हप्ताभर देशका सात प्रदेशका प्रशिक्षकहरु बीच खेलबारे ब्यवहारिक सिकाई भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश इञ्चार्ज कमला भण्डारी ज्ञवालीले मार्शल आर्ट एउटा उत्कृष्ट खेल भएको बताउनुभयो । आत्मरक्षा हुँदै अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा पहिचान भएको यो खेलको विकासमा संगठनात्मक रुपमा अघि बढेको बताउनुभयो । कार्यक्रममा संघका केन्द्रीय संघका वरिष्ठ उपाध्यक्ष बज्रध्वज वाइबा, जिल्ला अध्यक्ष कृष्ण थापा, समाजसेवी रत्नहरि गौतमले मार्शल आर्टको क्रेजलाई बढाउन महत्वपूर्ण हुने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि शुुरु भएको प्रशिक्षण कार्यक्रममा सात प्रदेशबाट २ जनाका दरले प्रशिक्षक र सहायक प्रशिक्षक सहभागी भएका थिए। प्रशिक्षण तालिममा केन्पोका प्रशिक्षक रमेश नराल, राजकुमार पाण्डे र प्रशिक्षक राजीवसिंह क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा खेलाडीहरूले खुकुरी काता प्रस्तुती गरेका थिए।

Advertisment