नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, गण्डकी प्रदेशद्वारा सल्लाहकार चयन

पोखरा, १२ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, गण्डकी प्रदेशले ६ जना सल्लाहकार चयन गरेको छ । गण्डकी प्रदेश संघको शनिबार सम्पन्न पूर्ण बैठकले राजेशकुमार गुरुङ, शिवप्रसाद पौडेल, विमल लामिछाने, ऋषिराम गौतम, सुधीरकुमार पौडेल र नवराज ओझालाई सल्लाहकारका रुपमा सर्वसम्मत चयन गरेको प्रदेश संघका महासचिव सन्दीप कोइरालाले जानकारी दिनुभयो ।
प्रदेश संघका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको बैठकले आगामी असोज ८ र ९ गते संघीय राजधानी काठमाडौंमा हुने राष्ट्रिय केन्पो खुकुरी मार्शल आर्टस् प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुनका लागि महासचिव सन्दीप कोइरालाको संयोजकत्वमा तयारी समिति समेत गठन गरेको हो । त्यसैगरी, बैठकले संघको आजीवन तथा साधारण सदस्यतालाई तीव्रता दिने निर्णय पनि गरेको छ ।


साथै, बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकले १९ सदस्यीय प्रदेश समितिको एक रिक्त सदस्यमा विष्णु चापागाईंलाई मनोनित गरेको छ । संघले सचिव विष्णु पोखरेलको नेतृत्वमा महिला उपसमिति र कोषाध्यक्ष पुरुषोत्तम पौडेलको नेतृत्वमा आर्थिक उपसमिति बनाएको छ भने गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका इञ्चार्ज समेत तोकेको अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो । संघले स्थानीय तहसम्म संघ गठनलाई तीव्रता दिने पनि जनाएको छ ।
बैठकमा भदौ १ गतेदेखि ७ गतेसम्म लुम्बिनी प्रदेशको मुकाम बुटवलमा भएको एक हप्ते केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा गण्डकी प्रदेशका तर्फबाट सहभागी भइ फर्किएका प्रशिक्षकहरू पूर्ण गुरुङ, किसान भण्डारी र युनिक थापालाई स्वागत गरिएको थियो भने गण्डकी प्रदेश खेलकुद परिषद्की सदस्य विष्णुमाया गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।


यसअघि, बैठकलाई सम्बोधन गर्दै संघकी केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङले संघको आयोजनामा हुने आसन्न नेशनल च्याम्पियनसीपको तयारीमा जुट्न निर्देशन दिनुभयो । बैठकमा प्रदेश संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङ, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज भरत गोदार, प्रदेश संघका पूर्व अध्यक्ष एवं केन्द्रीय प्रचार विभाग सचिव रूद्रबहादुर श्रीसले आवश्यक दिशानिर्देश गर्नुभएको थियो । त्यस्तै, गण्डकी प्रदेश खेलकुद परिषद्की सदस्य विष्णुमाया गुरुङ, जिल्ला खेलकुद विकास समिति, म्याग्दीका अध्यक्ष दिनेश केसी, जिल्ला संघ, म्याग्दीका अध्यक्ष धनकुमार पुर्जाले पनि बोल्नुभएको थियो ।

Advertisment