मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको अध्यक्षमा पुनः थापामगर

पोखरा, २३ कात्तिक
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा लेकदेवी पुनमगर रहनुभएको छ । त्यसैगरी, ११ सदस्यीय कार्यसमितिको सदस्यहरूमा अञ्जु बुढामगर, मुना रानामगर र बाजिन्द्र बुढामगर रहनुभएको छ भने तीन जना सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले कोरोना महामारीका कारण चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । पछिल्लो समय कोरोना केही नियन्त्रणमा आएपनि जोखिम उत्तिकै रहेको भन्दै उहाँले अझै पनि ढुक्क भएर चलचित्रमा लगानी गर्ने वातावरण तयार भइनसकेको बताउनुभयो । मगर चलचित्रको बजार विस्तार आवश्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष पुनमगरले मगर चलचित्र निर्माणलाई बढावा दिन स्वयं मगर समुदाय र राज्यले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।
संघका संस्थापक केन्द्रीय सदस्य सन्तोष पिठाकोटेमगरले मगर जातिको जनसंख्या ठूलो भएपनि मगर चलचित्रको बजार विस्तार हुन नसक्नु विडम्बना भएको बताउनुभयो । मगर चलचित्रको निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले मगर चलचित्रको प्रवद्र्धनमा सञ्चारमाध्यमको साथ लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले मगर चलचित्रकर्मी र मगर पत्रकारका बीचमा सहकार्यको खाँचो औंल्याउनुभयो । मगर चलचित्रको प्रवद्र्धनका लागि मगर पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले मगर चलचित्रकर्मीले मगर पत्रकार खोज्ने र मगर पत्रकारले मगर चलचित्रकर्मी खोज्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर भाषा, साहित्य र चलचित्र क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्नु जरुरी रहेको बताउनुभयो ।
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र उपाध्यक्ष केशव आलेमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment