कास्की हाप्किडो संघमा गुरु पूर्णिमा मनाइयो

पोखरा, २९ असार
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीले गुरु पूर्णिमा मनाएको छ । संघमा आबद्ध हाप्किडोका प्रशिक्षार्थी खेलाडीहरूले आफ्ना प्रशिक्षकलाई सम्मान गरी गुरु पूर्णिमा मनाएका हुन् । पोखरा रंगशालामा आयोजित कार्यक्रममा हाप्किडोकी राष्ट्रिय खेलाडी एवं प्रशिक्षक कृति गिरीलाई सम्मान गरी प्रशिक्षार्थी खेलाडीहरूले गुरु पूर्णिमा मनाएका थिए । सो अवसरमा केक समेत काटिएको थियो भने खेलाडीहरूलाई चकलेट र जुस वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं हाप्किडो संघ, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले विभिन्न क्षेत्रमा जस्तै खेल जगतमा गुरु पूर्णिमाको महत्वपूर्ण स्थान रहेको बताउनुुभयो । जीवनको पहिलो गुरु भनेको माता पिता भएको उल्लेख गर्दै उहाँले त्यसपछि शिक्षा, दीक्षा दिने गुरु आउने उल्लेख गर्नुभयो । हाप्किडो खेलले बिस्तारै गति लिन थालेको बताउँदै मगरले संगठन विस्तारसँगै संघले खेलाडी उत्पादनमा पनि विशेष ध्यान दिएको बताउनुुभयो ।
गण्डकी प्रदेश खेलकुुद परिषद्की कार्यकारी सदस्य तारामाया थापामगरले हालै उज्वेकिस्तानमा सम्पन्न एसियाली हाप्किडो च्याम्पियनसीपबारे जानकारी गराउनुुभएको थियो । नेपाली टोलीको नेतृत्व गरी आफूहरू उज्वेकिस्तान गएको बताउँदै उहाँले हाप्किडो र खेल क्षेत्रबारे त्यहाँ धेरै कुरा सिक्न पाएको बताउनुभयो । नेपालमा अझै पनि खेल क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले खेलाडीलाई सहज जीवनयापन गर्न सक्ने अवस्था नबन्दासम्म खेल क्षेत्रको विकास नहुुने बताउनुुभयो । एसियाली हाप्किडो च्याम्पियनसीपमा सीमित स्रोत साधन र तयारीका बावजुुद पनि नेपालको उपस्थिति सन्तोषजनक भएको उहाँको भनाइ थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगरले हाप्किडो संघले संगठन विस्तार मात्र नभएर खेलाडी उत्पादनमा पनि उत्तिकै ध्यान दिएको भन्दै प्रशंसा गर्नुुभयो । सो अवसरमा गण्डकी प्रदेश हाप्किडो संघका कोषाध्यक्ष मदन जिसी, प्रशिक्षक कृति गिरी, कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष रविन गुरुङले पनि बोल्नुुभएको थियो ।

Advertisment