बिरुवा अर्चलेमा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आँखा शिविर

बिरुवा, १ असोज
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. २, बिरुवा अर्चलेमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ “एम”, नेपाल, रिजन ९, जोन १९ अन्तर्गतको लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।


बिरुवा गाउँपालिका वडा नं. २ को व्यवस्थापन र बिरुवाखबर डटकमको सहकार्यमा भएको सो शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक चर्तीमगरले लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले बिरुवा अर्चलेका स्थानीयबासी लाभान्वित हुने गरी कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । मन्त्री चर्तीमगरले वडाका मात्र नभइ निकट भविष्यमा पालिकास्तरीय बृहत् स्वास्थ्य शिविरको आयोजना गर्न सुझाव दिँदै त्यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नियमित स्वास्थ्य सेवा पाउन नसक्ने ठाउँका जनताको सुविधाका लागि घुम्ती स्वास्थ्य शिविरहरू बेला बखतमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री चर्तीमगरले सामाजिक संघसंस्थाहरूले समेत जनताको स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । स्वास्थ्य सबैभन्दा ठूलो कुरा भएको भन्दै उहाँले जनता स्वस्थ भएमात्र देश समृद्ध हुने उल्लेख गर्नुभयो ।


बिरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्माले लायन्स क्लब गण्डकी प्रदेशले प्रशंसनीय काम गरेको भन्दै वृद्धवृद्धाको सहजताका लागि यस्ता शिविरले ठूलो टेवा मिल्ने भनाइ राख्नुभयो । समाजसेवाको काममा अग्रसर रहनु खुशीको कुरा भएको भन्दै उपाध्यक्ष शर्माले यस्ता शिविरलाई एउटा वडामा मात्र नभइ पालिकाभरि नै सञ्चालन गर्नुपर्ने र त्यसको लागि पालिकाले समेत सहयोग गर्न तयार रहेको बताउनुभयो ।


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपाल, रिजन ९ का रिजन चेयरपर्सन लायन भानुभक्त अधिकारीले लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले स्थापनाको छोटो समयमा पनि निकै महत्वपूर्ण सामाजिक कार्यहरू गरेको भन्दै प्रशंसा गर्नुभयो । रचनात्मक क्रियाकलापहरूलाई निरन्तरता दिन सुझाव दिँदै उहाँले यस्ता कार्यक्रमले लायन्स क्लब र लायनवादको गरिमालाई उँचो बनाउने काम गरेको भनाइ राख्नुभयो ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकी अध्यक्ष लायन उषा थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिरुवा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष नोमबहादुर गुरुङ, लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपाल, रिजन ९, जोन १९ की जोन चेयरपर्सन लायन कोपिला श्रीस, डिष्ट्रिक्ट चेयरपर्सन लायन कुश्मराज सुवेदी, क्लबकी प्रथम उपाध्यक्ष लायन रूद्रबहादुर श्रीस, द्वितीय उपाध्यक्ष लायन सन्तु सुवेदी, युवा समाजसेवीद्वय थमन गुरुङ, सागर थापालगायतले लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले गरेका सामाजिक काम र आँखा शिविरको बारेमा चर्चा गर्नुभएको थियो ।
हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सञ्चालित सो आँखा शिविरमा २५१ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये १४ जना मोतियाविन्दु भएका आँखाका बिरामी भेटिएका छन् । उनीहरूलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रियाको लागि रिफर गरिएको छ । यसैबीच, सोही कार्यक्रममा मृगौला पीडित शान्ति गुरुङलाई आर्थिक सहयोग समेत गरिएको थियो । शान्ति गुरुङ बचाऊ अभियानका संयोजक थमन गुरुङलाई क्लबकी अध्यक्ष लायन उषा थापाले ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

Advertisment