सहकारीका सात सिद्धान्तलाई व्यवहारमा पालना गरौं ः मन्त्री बुढामगर

पोखरा, ४ असोज
गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर ‘सागर’ले सहकारीका सात सिद्धान्तलाई व्यवहारमा कडाइका साथ पालना गर्नुपर्ने बताउनुभएको छ ।
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभाको मंगलबार पोखरामा उद्घाटन गर्दै मन्त्री बुढामगरले सहकारी क्षेत्रलाई सही दिशामा अघि बढाउन सहकारीका सात सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीको मूल मर्म र भावनालाई आत्मसात गर्ने कुरामा सहकारी क्षेत्रले बहस चलाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले उत्पादनसँग सहकारीलाई जोड्नुपर्ने धारणा राख्नुभयो । सिद्धान्तलाई आधार मानेर व्यवहारिकतालाई ध्यान दिनुपर्ने बताउँदै मन्त्री बुढामगरले वित्तीय कारोबारसँगै सहकारीले सामाजिक उत्तरदायित्वलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीमगरले सहकारीको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यतालाई ख्याल गर्नुपर्ने बताउनुभयो । सहकारीमा पैसा जम्मा गरेर मात्रै नहुने भन्दै उहाँले सहकारी क्षेत्र एउटा अभियान समेत भएको बताउनुभयो । सहकारी रजिष्ट्रार घर्तीमगरले सहकारी क्षेत्रले सहकारीका सात सिद्धान्तलाई भुल्न नहुनेमा जोड दिनुभयो ।


नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले आफ्नो जातीय पहिचानको संरक्षणसँगै मगर समुदायलाई व्यवसायिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सहकारीलगायतका वित्तीय संस्थामा मगर समुदायको संलग्नताले केही आशा पलाएको बताउनुभयो । बचत गर्ने बानीको विकाससँगै उत्पादनमूलक क्षेत्रमा लगानीका लागि सहकारीले प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै उहाँले आफ्ना शेयर सदस्यलाई स्वरोजगार बनाउन सहकारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।


त्यस्तै, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष महेन्द्र आलेमगरले केही व्यक्ति र संस्थाका कारण सहकारी क्षेत्रको बदनाम हुने अवस्था आउनु दुःखद् रहेको भन्दै सही ढंगले सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिमाया थापामगर, सचिव डिलबहादुर श्रीसमगर, सह–सचिव गोविन्द सिंजालीमगरले पनि बोल्नुभएको थियो । सो अवसरमा शिक्षा उपसमिति संयोजक रूद्रबहादुर श्रीसमगरले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट महिला तथा पुरुष ऋणीलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी, हालैः सहकारी रजिष्ट्रारका रुपमा सरुवा भइ आउनुभएका रमेश घर्तीमगर र पोखरा महानगरपालिका वडा नं. २७ को वडा सदस्यमा निर्वाचित सहकारीकी उपाध्यक्ष बुद्धिमाया थापामगरलाई बधाई ज्ञापनसहित सम्मान गरिएको थियो । साधारणसभाले लेखा समिति संयोजक कुमार थापामगर र कोषाध्यक्ष झपटबहादुर रानामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment