संविधान राष्ट्रपतिले होइन, गठबन्धनले मिचेको छ ः एमाले नेता गुरुङ

पोखरा, ८ असोज
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री किरण गुरुङले संविधान राष्ट्रपतिले नभइ सत्ता गठबन्धनले मिचेको दाबी गर्नुभएको छ ।
लोकतान्त्रिक मगर संघ, नेपाल, केन्द्रीय कमिटीले शनिबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले सत्ता गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी भएको आरोप लगाउनुभयो । नेकपा (एमाले)को नेतृत्वमा सरकार बने मात्र समृद्धि हासिल गर्न सकिने जिकिर गर्दै उहाँले संघीयताविरोधी शक्तिले टाउको उठाउन खोजिरहेकोले सबै जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख लीलाबहादुर थापामगरले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेलाई जिताउन मगर समुदायले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । पार्टीका पोलिटब्यूरो सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका अध्यक्ष गोकुल घर्तीमगरले आदिवासी जनजातिको हक, अधिकारका लागि लड्ने पार्टी एमाले भएको भन्दै समानुपातिक समावेशी प्रतिनिधित्वको सवाललाई एमालेले मात्र सम्बोधन गर्न सक्ने दाबी गर्नुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इञ्चार्ज नवीन रोकामगरले प्रथम शहीद लखन थापामगरदेखि दश वर्षे जनयुद्ध हुँदै नेपालका विभिन्न आन्दोलन र क्रान्तिमा मगर समुदायले ठूलो बलिदानी गरेको भन्दै बलिदानी अनुसारको प्रतिनिधित्व अझै हुन नसकेको बताउनुभयो । भेलामा पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज बालासिंह काउछामगर, केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला सह–इञ्चार्ज सावित्रा रानामगर, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका महासचिव पेम्बा गुरुङ भोटे, लोकतान्त्रिक मगर संघ, नेपालका अध्यक्ष दिलबहादुर थापामगर, उपाध्यक्ष राजकुमार थापामगर, महासचिव जीवन थापामगरलगायतले मगर समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि संगठनले निरन्तर संघर्ष गरिरहनुपर्ने धारणा राख्नुभएको थियो ।


राजकुमार थापाको नेतृत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी
आसन्न मंसिर ४ को निर्वाचनको तयारी र परिचालनका लागि लोकतान्त्रिक मगर संघ, नेपालको गण्डकी प्रदेशस्तरीय भेलाले केन्द्रीय उपाध्यक्ष राजकुमार थापामगर संयोजक रहने गरी ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा सह–संयोजक केन्द्रीय सचिव गणेश थापामगर, सचिवमा केन्द्रीय सदस्य तारामाया थापामगर रहनुहुनेछ । निर्वाचन परिचालन कमिटीमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज रूद्रबहादुर श्रीसमगरसहित गण्डकी प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू, गण्डकी प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, पालिका कमिटीका अध्यक्ष र सचिवहरू, प्रदेश कमिटीका सबै सल्लाहकारहरू, प्रदेशस्तरीय विभागका अध्यक्ष, सचिवहरू, केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सदस्यहरू रहने महासचिव जीवन थापामगरले जानकारी दिनुभयो ।

 

Advertisment