पोखरामा प्रा.डा. ओम गुरुङको श्रद्धाञ्जली सभा सम्पन्न

पोखरा, ६ कात्तिक
नेकपा (क्रान्तिकारी माओवादी), केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष एवं अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष, मानवशास्त्री प्रा.डा. ओम गुरुङको निधन भएको सातौं दिनमा आज श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रद्धाञ्जलीसभामा पार्टीका पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश सेक्रेटरी केशबहादुर परियार, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, वामपन्थी बुद्धिजीवी रामराज रेग्मी, नेकपा (बहुमत)का केन्द्रीय सदस्य गोकुल पराजुली, नेकपा (मशाल)का नेता आकाश गौतम, नेकपा (एमाले), गण्डकी प्रदेश कमिटी सदस्य रूद्रबहादुर श्रीस, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य नारायण अधिकारी “निश्चल”, रामजी थापा, कास्की जिल्ला सेक्रेटरी भीमबहादुर श्रीस, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरलगायतले स्व. प्रा.डा. गुरुङको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले गुरुङको निधनले वर्गीय, जातीय मुक्ति आन्दोलनमा मात्र नभइ शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गरेका थिए ।


अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य बमबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा काजी गाउँलेले पनि बोल्नुभएको थियो । सो अवसरमा स्व. गुरुङका आफन्तजनले समेत श्रद्धाञ्जली प्रकट गरेका थिए । क्यान्सर र मृगौलापीडित गुरुङको ७० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

 

Advertisment