मगर संघ हङकङद्वारा मगर–माघे संक्रान्ति मेलाको तयारी

हङकङ, २७ डिसेम्बर
मगर संघ, हङकङ मूल समितिको आयोजनामा मगर जातिको प्रमुख सांस्कृतिक चाड मगर–माघे संक्रान्तिको अवसरमा “मगर–माघे संक्रान्ति मेला” हुने भएको छ ।
मेलाबारे जानकारी दिन शनिबार हङकङमा जानकारी सभा सम्पन्न भएको महासचिव झलक थापामगरले जानकारी दिनुभयो । आगामी जनवरी १५ तारिखका दिन जोर्डनस्थित इन्डिया क्लबमा मेलाको आयोजना गरिएको महासचिव थापामगरले बताउनुभयो । हरेक वर्ष आयोजना हुने मेलामा मगर जातिमा प्रचलित विभिन्न मौलिक संस्कृतिहरू कौरा, सोरठी, झ्याउरे, नौमती बाजालगायतका प्रस्तुती रहने अध्यक्ष हर्कप्रसाद रानामगरले जानकारी दिनुभयो ।
अध्यक्ष रानामगरका अनुसार मेलामा मौलिक मगर खानाका परिकारहरू पनि रहनेछन् । मेलामा मगर संस्कृतिको मनोरञ्जनसँगै नाम्या (तरुल), बारा, सेलरोटी, बिरम्ला, भुटुवा, खिचडीलगायतका मौलिक मगर खानाका परिकारको स्वाद लिन पाइने उहाँले बताउनुभयो । कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुती समेत राखिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो । मेलालाई सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँडसहित तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।

 

Advertisment