गण्डकीका सभामुख, उपसभामुख र प्रमुख सचेतकसँग मगर संघको छलफल

पोखरा, २१ चैत्र
नेपाल मगर संघ, केन्द्रीय समितिले गण्डकी प्रदेशमा प्रदेश भाषा ऐन निर्माणका सन्दर्भमा गण्डकी प्रदेशसभाका सभामुख, उपसभामुख र विभिन्न दलका प्रमुख सचेतकसँग छलफल गरेको छ ।
भाषा आयोगले नेपाली भाषासहित मगर भाषा र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेपछि नेपाल मगर संघ, केन्द्रीय समिति भाषा ऐन निर्माणको पूर्व तयारीमा कस्सिएको हो । मगर संघले बुधबार बिहान गण्डकीका सभामुख कृष्णप्रसाद धिताल र उपसभामुख विनाकुमारी थापासँग भाषा ऐन निर्माणको सम्भावना र चुनौतीबारे छलफल गरेको अध्यक्ष ज्ञानेन्द्र पुनले जानकारी दिनुभयो ।
सो छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कुसुम बुढाको समेत उपस्थिति रहेको थियो । नेकपा (एमाले)का प्रमुख सचेतक गोविन्द नेपालीसँग भने मंगलबार बेलुकी मगर संघले छुट्टै छलफल गरेको थियो । छलफलका क्रममा नेपाल मगर संघले गण्डकी प्रदेश मगर र गुरुङलगायत आदिवासी जनजाति समुदायको बाहुल्यता भएको प्रदेश भएकोले भाषा ऐन निर्माणमा सघाउन आग्रह गरेको थियो ।
छलफलमा सहभागी विभिन्न दलका प्रमुख सचेतकहरूले नेपाल मगर संघको प्रस्तावप्रति आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रदेशसभाले आवश्यक छलफल गरेर यसबारे टुंगो लगाउन पहल गर्ने उनीहरूको भनाइ थियो । नेपाल मगर संघका तर्फबाट छलफलमा अध्यक्ष ज्ञानेन्द्र पुन, महासचिव टेक नाम्जाली, उपमहासचिव खेम पुन, कोषाध्यक्ष पूर्णबहादुर रानालगायतका पदाधिकारी र मगर अगुवाहरू सहभागी हुनुहुन्थ्यो ।

Advertisment