श्री कृष्ण प्रणामी वृन्दावन धाम तथा स्वामी षडानन्द गुरुकुलमको तेस्रो वार्षिकोत्सव

पोखरा, १८ जेठ
श्री कृष्ण प्रणामी वृन्दावन धाम तथा स्वामी षडानन्द गुरुकुलम्को तृतीय वार्षिकोत्सव श्रीकृष्ण परमार्थ मिसन ट्रष्टका अध्यक्ष गुरुजी श्री १०८ विष्णु वशिष्ठ महाराज ज्यू र संस्थापिका विदुषी सुश्री कला माता ज्यूको सान्निध्यमा भव्य रुपमा सम्पन्न भएको छ ।

विदुषी सुश्री कला माताजीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तर्राष्ट्रिय सन्त श्री १००८ सत्यदेव जी महाराज रहनुभएको छ । कार्यक्रममा दमौली वेदव्यास गुफाका महन्त श्री दामोदर बाबाजी, जग्गादाता श्री सुरेश गुरुङ ज्यू विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा बटुक, भाइबहिनीहरूद्वारा स्वस्तिवाचन एवं स्वागत भजन प्रस्तुत समेत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सभापति राजेन्द्रमणि लामिछाने, श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति, रत्नचोकका अध्यक्ष, उद्योगपति एवं वरिष्ठ समाजसेवी मोहनप्रसाद ढकाल, श्रीकृष्ण प्रणामी सेवा समिति, जिल्ला कार्यसमिति, कास्कीका अध्यक्ष लीलाम्बर सापकोटा, पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने वरिष्ठ समाजसेवी कृष्णराज पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवं भक्तजनहरूले झण्डोलोत्तन गरेका थिए ।

गुरुजी श्री १०८ विष्णु वशिष्ठ महाराजले प्रवचनमा अहिलेको उथलपुथल भइरहेको राजनैतिक र धार्मिक विषयलाई समेट्दै धर्ममा राजनीति नभइ राजनीतिमा धर्म अपनाउनुपर्ने बताउनुभएको थियो । सो मन्दिर तथा धाममा कम अवसर पाएका विद्यार्थी र अन्य सदस्यहरूसहित २५ जना रहँदै आएका छन् । यस स्थानमा विभिन्न समयमा धार्मिक कार्यक्रम गर्दै युवा तथा प्रौढ र ज्येष्ठ नागरिकका लागि आत्मसन्तुष्टि प्राप्तिको वातावरण निर्माण गर्ने गरिएको छ । कार्यक्रमको सञ्चालन देवीप्रसाद खतिवडाले गर्नुभएको थियो ।

 

Advertisment