पृथ्वीनारायण क्याम्पसमा मौद्रिक नीतिबारे छलफल

पोखरा, १७ साउन
पृथ्वीनारायण क्याम्पस, अर्थशास्त्र विभाग र अर्थशास्त्र विद्यार्थी मञ्चको संयुक्त आयोजनामा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति–२०८१÷०८२ बारे संवाद कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावबारे विद्यार्थीलाई बुझ्न कार्यक्रमले सघाउने भनाइ राख्नुभयो । मौद्रिक नीतिबारे प्राज्ञिक बहस हुनु आवश्यक भएको भन्दै क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिको सही कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।
मौद्रिक नीतिबारे कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंककी निर्देशक विना ढकालले अर्थतन्त्र चलायमान बनाउने हिसाबले मौद्रिक नीति आएको जनाउँदै मौद्रिक नीति गतिशील हुने भएकोले आवश्यकता अनुसार परिमार्जन गर्न पनि सकिने उल्लेख गर्नुभयो । कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थशास्त्री प्रा.डा. यादव शर्मा गौडेलले मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहाल, नेपाल बैंकर्स एशोसिएसन, गण्डकी प्रदेशका संयोजक सूर्य तिवारी, नेपाल निर्माण व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष टंकराज बराल, नेपाल जग्गा तथा आवास विकास संघ, गण्डकी प्रदेशका अध्यक्ष घनश्याम लामिछाने, पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाईका अध्यक्ष देवीलाल शर्मा, अर्थशास्त्र विभागीय सदस्य कुन्दराज थापा, पूर्व विभागीय सदस्य बुद्धिसागर बरालले मौद्रिक नीतिबारे आ–आफ्नो भनाइ राख्दै सरकार र तिनका निकायप्रति जनताको विश्वास जगाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
त्यस्तै, विद्यार्थीका तर्फबाट रमेश थापामगर र आविष्कार पौडेलले मौद्रिक नीतिबारे आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । अर्थशास्त्र विभागका विभागीय प्रमुख सहप्राध्यापक कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहप्राध्यापक होमनाथ पौडेलले गर्नुभएको थियो भने अर्थशास्त्र विद्यार्थी मञ्च, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष आयुष भट्टराईले स्वागत गर्नुभएको थियो ।

 

Advertisment