मगर संघ शुक्लागण्डकीको नेतृत्व विकास तथा भेषभूषा बुनाइ तालिम सम्पन्न

रूद्र श्रीसमगर
खैरेनीटार, २८ जेठ
नेपाल मगर संघ शुक्लागण्डकी नगर समिति, तनहुँद्वारा आयोजित मगर जातिका युवा तथा महिलाहरूका लागि आठ दिने नेतृत्व विकास एवं मगर महिलाहरूका लागि १५ दिने भेषभूषा बुनाइ तालिमको सोमबार समापन गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिमको समापनका अवसरमा बोल्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष एवं आदिवासी जनजाति युवा महासंघ नेपालका उपमहासचिव सिद्धान्त थापामगरले आदिवासी जनजातिलाई सजाउने वस्तुका रुपमा मात्रै लिने गरिएकोमा आपत्ति जनाउनुभयो । ‘आदिवासी जनजातिलाई राजनैतिक दलहरूले सजाउने वस्तुका रुपमा मात्रै प्रयोग गरे’, थापामगरले भन्नुभयो, ‘तर, आदिवासी जनजातिका सरोकारप्रति सधैं बेवास्ता गरियो ।’
आदिवासी जनजातिका पोशाकको दुरुपयोग भइरहेको भन्दै थापामगरले जातीय पहिचान र अधिकार नचाहने आदिवासी जनजाति नै भएपनि सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने धारणा राख्नुभयो । बाध्यताको राजनीति गर्न जरुरी रहेको भन्दै थापामगरले आदिवासी जनजातिकै मतले चुनाव जितेका जनप्रतिनिधिहरूले अहिले आदिवासी जनजातिलाई नै बेवास्ता गरेको गुनासो गर्नुभयो ।
आदिवासी जनजाति समुदाय नेतृत्व र अस्तित्वको लडाइँमा रहेको भन्दै थापामगरले तीजमा खर्च गर्ने पैसा भाङ्ग्रा, कछाड, पछ्यौरीजस्ता मौलिक पोशाक बुन्ने मेसिन र सामान किन्न मगर महिलाहरूलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समन्वय परिषद्, क्षेत्र नं. २ तनहुँका अध्यक्ष इन्द्रबहादुर थापामगर, तालिमका प्रशिक्षक एवं नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का अध्यक्ष विमल जिसी, शुक्लागण्डकी नगर कार्यपालिका सदस्य खिमबहादुर कुमाल, नेपाल मगर संघ तनहुँका जिल्ला सदस्य मनबहादुर पुनमगर, नगर समितिका सल्लाहकार दलबहादुर पुनमगर, भेषभूषा बुनाइ तालिम संयोजक होममाया थापामगर, नेतृत्व विकास तालिम संयोजक चन्द्रा थापामगर, चिल्लेचौर मगर समाजका अध्यक्ष यामबहादुर आलेमगर, प्रशिक्षक सिर्जना रानामगर, प्रशिक्षार्थीहरूका तर्फबाट विपना थापामगर, अमरराज थापामगर, तारा रानामगर, नवीन थापामगरले बोल्नुभएको थियो ।
कार्यक्रममा नेतृत्व विकास तालिममा उत्कृष्ट हुने विपना थापामगर र मगर भेषभूषा बुनाइ तालिममा उत्कृष्ट हुने देवी थापामगरलाई समेत पुरस्कृत गरिएको थियो । तालिममा नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीसमगर, सञ्चारकर्मी सिर्जना रानामगर, रेडियो ढोरबाराहीका स्टेशन म्यानेजर राजकुमार आलेमगर, तालिम संयोजक चन्द्रा थापामगरले नेतृत्व विकास, उद्घोषणकला तथा व्यक्तित्व विकासबारे सहजीकरण गर्नुभएको थियो भने भेषभूषा बुनाइ तालिम संयोजक होममाया थापामगरले भेषभूषा बुनाइसम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिका अध्यक्ष खड्कसिंह थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुमन आलेमगर र कोषाध्यक्ष दानमाया रानामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment