रवीन्द्रको अपूरो सपना पूरा गर्न प्रतिबद्ध छु ः विद्या भट्टराई

पोखरा, २३ कात्तिक
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ की नेकपा उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले दिवंगत नेता रवीन्द्र अधिकारीको सपना पूरा गर्न आफू प्रतिबद्ध भएको बताउनुभएको छ ।
बिहीबार उपनिर्वाचनको मनोनयन दर्तापछि पोखरामा आयोजित नेकपाको उम्मेदवार घोषणासभामा बोल्दै उम्मेदवार भट्टराईले पार्टी र जनताको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू कहिले पनि राजनीतिबाट पछि नहटेको भन्दै उहाँले विद्यार्थी राजनीतिदेखि नै आफू फरक फरक भूमिकामा क्रियाशील बन्दै आइरहेको बताउनुभयो ।
आफूमाथि केही प्रश्न उठेको भन्दै उम्मेदवार भट्टराईले आफूले संवेदनाको मत लिन नआएको उल्लेख गर्नुभयो । विगतमा राजनीतिप्रति आफ्नो भूमिका केही कम भएको सत्य भएको भन्दै उहाँले जनताको समृद्धिको सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले नेकपाको जित सन्निकट देखेर विपक्षीले भ्रामक प्रचार गरिरहेको बताउनुभयो । नेकपाको जित सुनिश्चित भएको भन्दै उहाँले समृद्धिका लागि नेकपाको जित आवश्यक भएको भनाइ राख्नुभयो । नेकपा, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे “उत्तम”ले कास्की–२ को उपनिर्वाचनले नेकपाको लोकप्रियता खस्किएको नभइ अझै बढेको सन्देश दिने जिकिर गर्नुभयो ।
नेकपा, कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा, कास्कीका सचिव बखानसिंह गुरुङ “आभाष”ले पनि बोल्नुभएको थियो ।

Advertisment