पोखरामा थारू नृत्य कार्यशाला सुरु

पोखरा, २० असोज
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा लोकनृत्य कलाकार संघ, कास्की शाखाको सहकार्यमा बुधबारदेखि पोखरामा पाँच दिने थारू नृत्य कार्यशाला सुरु भएको छ ।
यही असोज २४ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कार्यशालाले लक्षित समुदायलाई फाइदा पु¥याउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशभन्दा गण्डकी प्रदेशलाई सबै हिसाबले उत्कृष्ट प्रदेश बनाउन सबैको साथ आवश्यक रहेको बताउनुभयो । कुनै पनि काम एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै उहाँले सबैको हातेमालो र संयुक्त प्रयासको खाँचो औंल्याउनुभयो । कार्यशालामा सिकाइएका कुरालाई व्यवहारमा उतार्न जोड दिँदै मन्त्री श्रेष्ठले निखारता ल्याउन निरन्तर चासो र अभ्यासको आवश्यकता पर्ने बताउनुभयो ।
प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य जसमाया गुरुङ (जसु)को संयोजनमा भएको कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले गण्डकी प्रदेशमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको स्थापनाले वाङ्मयिक संघसंस्थाहरूले अभिभावक पाएको महसुस गरेको उल्लेख गर्नुभयो । कला, संस्कृति र साहित्यको उत्थानमा प्रतिष्ठानले नेतृत्वदायी भूमिका रहने बताउँदै अध्यक्ष थापाले कला, संस्कृतिको सामाजिकीकरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले प्रतिष्ठानले कसैलाई कुनै भेदभाव नगरी सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कला, संस्कृति र साहित्यको विकासमा अहोरात्र खटेर लाग्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र लोकनृत्य कलाकार संघ, कास्की शाखाका अध्यक्ष केशबहादुर गुरुङले बोल्नुभएको थियो । प्रशिक्षकद्वय आदर्श महतो र देउकुमारी महतोले सहजीकरण गर्ने कार्यशालामा ३० जना नृत्य प्रशिक्षक सहभागी छन् ।

Advertisment