गायक दीपेन्द्र ठकुरीको ‘सुनको महल सार्वजनिक

पोखरा, २२ असोज
गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ’सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले गरेका हुन् ।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दीपेन्द्र बुढा ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । आफ्नो जीवनमा मात्र नभइ यो गीत अन्यको जीवनसँग पनि मेल खाने बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्को भाग पनि आउने बताउँदै गीत संगीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे ।
निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनौट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । थापाले डिएमबिएस फिल्मस्सँग मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको र आगामी दिनमा नेपाली चलचित्र बनाउने योजना रहेको समेत बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर, प्रेस चौतारी नेपाल, गण्डकी प्रदेशका सह–इञ्चार्ज श्याम कुँवर र राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष दीपक परियारले संयुक्त रुपमा म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
डिएमबिएस फिल्मस् प्रोडक्सनको निर्माण ओएसआर डिजिटलको प्रस्तुति रहेको सो म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको संयोजन गण्डकी भ्वाइस डट कमले गरेको थियो । कार्यक्रममा गण्डकी भ्वाइस डट कमका प्रबन्ध निर्देशक सुरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सञ्चारकर्मी जुना थापाले गर्नुभएको थियो ।

Advertisment