सात प्रदेशमध्ये उत्कृष्ट सञ्चार कानून गण्डकीमै बन्छ ः मन्त्री थापा

पोखरा, १३ कात्तिक
गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वतन्त्र पत्रकारितालाई बाधा पुग्ने गरी प्रदेश कानुन नबन्ने विश्वास दिलाउनुभएको छ । उहाँले आमसञ्चार विधेयक पत्रकारकै पक्षमा आउने बताउँदै पेलेर जाने पक्षमा आफू नरहेको प्रष्ट पार्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले स्याङ्जाको पर्यटकीय गाउँ सिरुबारीमा आयोजना गरेको ग्रामीण पर्यटन प्रवर्द्धन एवं पत्रकारको क्षमता अभिवृद्धि तालिमको शुभारम्भ गर्दै मन्त्री थापाले पत्रकारहरु आत्तिनु नपर्ने बताउनुभएको हो ।
मन्त्रालयकै सहयोगमा आयोजित कार्यक्रममा मन्त्री थापाले भन्नुभयो, “म सञ्चार विधेयकका बारेमा पत्रकार साथीहरुसँग निरन्तर छलफल, विचार विमर्श गरिरहेका छौँ । लुम्बिनी लगायतका प्रदेशमा पेलेरै जाने रणनीतिका साथ सरकार अघि बढेको पनि थाहा पाएका छौँ । तर, तपाईंहरु ढुक्क हुनुहोस्, गण्डकी सरकार पत्रकारलाई पेलेर अघि बढ्दैन । विधायन समितिमा पुगेको सञ्चार विधेयक कसरी पत्रकारमैत्री बन्छ भनेर समिति सभापतिसँग पनि मेरो कुरा भइरहेको छ ।’
उहाँले अब सदन चल्नासाथ विधेयक पास गर्ने तयारी भइरहेको समेत बताउनुभयो । फोनिजले पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै ग्रामीण पर्यटन प्रवर्द्धनका लागि गरेको यो कार्यक्रम पवित्र उद्देश्यको रहेकाले पनि साथ दिएको बताउनुभयो । उहाँले नवप्रवेशी पत्रकारहरुलाई यस क्षेत्रमा लागिरहन प्रेरित गर्ने खालको कार्यक्रम गर्न पनि सुझाउनुभयो । यसैबीच, मन्त्री थापाले कोरोना महामारीका कारण ठप्प रहेको पर्यटन क्षेत्रलाई अब चलायमान बनाउन पनि गाउँ गाउँमा ग्रामिण पर्यटन प्रवद्र्धन कार्यक्रम गर्नुपर्ने बताउनुभयो । फोनिजको यो कार्यक्रमले पर्यटकलाई वृद्धि गर्न सघाउ पुग्ने मन्त्री थापाको भनाई छ ।
‘प्रदेश सरकारले गाउँ गाउँमा घरबास योजना (होम स्टे) का लागि कार्यविधि बनाएको छ । शहरबजारको कोलाहलबाट निस्कँदै ग्रामीण क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको छ । अब शहरलाई एक छिन भएपनि बिर्साउने गरी होम स्टेमा अर्गानिक खाना खुवाउनुपर्छ । गाउँमै उत्पादित तरकारी, माछामासु, खाना भएमा मात्र पर्यटक खुशी हुन्छन्, र बसाईं लम्बाउन सकिन्छ ।’ मन्त्री थापाले भन्नुभयो ।
फोनिज गण्डकीका इञ्चार्ज हुमबहादुर गुरुङले आफ्नोपन, पहिचान, सभ्यताले सिरुबारीलाई चिनाएको हुँदा अरु होमस्टेले पनि सिकेर उन्नति गरेको बताउनुभयो । उहाँले पर्यटन र पत्रकार पर्यायवाची शब्द भएका कारण सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले आन्तरिक पर्यटक बढाउने खालका कार्यक्रम फोनिजसँग मिलेर गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि यस्ता अन्य कार्यक्रमहरुमा सहकार्य गर्ने उहाँको भनाइ थियो । वडाध्यक्ष लोकप्रसाद ढकालले होमस्टेका लागि सकेको सहयोग गरिरहेको जनाउनुभयो । अझै पनि भनेजस्तो नभएका कारण राम्रो गर्ने प्रयास जारी रहेको अध्यक्ष ढकालले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आधारभूत तालिमको पनि आवश्यकता रहेको बताउनुभयो । यसमा पत्रकारसँग सम्बन्धित सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अन्तरक्रियाको पहिलो सत्रमा ‘पत्रकार पेसागत क्षमता अभिवृद्धि’ विषयमा फोनिज गण्डकीका इञ्चार्ज हुम गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो सत्रमा कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव काशीराम गैह्रेले गत वर्ष भएका कार्यक्रम र यो वर्षका योजना र कार्यक्रमबारे आफ्नो प्रस्तुतिमार्फत् पत्रकारलाई प्रष्ट पार्नुभयो । तेस्रो तथा अन्तिम सत्रमा ‘ग्रामीण पर्यटनको पाठशाला’ विषयमा पर्यटनविद् हरिसिंह गुरुङको कार्यपत्रमाथि अन्तरक्रिया गरिएको थियो ।
कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाले पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं साथ दिने बताउनुभयो । महासचिव रुद्र श्रीसमगरले फोनिजले पर्यटन प्रवद्र्धनमा फोनिजले अझै उत्कृष्ट कार्यक्रम ल्याउने जनाउनुभयो । फोनिज गण्डकीका उपाध्यक्ष दिल श्रीसमगरले आदिवासी जनजाति पत्रकार उत्पादनमा जोड दिनुभयो । नयाँ पत्रकार जन्माउन र भएका पत्रकार जोगाउनु पछिल्लो समय चुनौतीको विषय रहेको उहाँको भनाइ थियो । पत्रकार क्षमता अभिवृद्धि तालिममा गण्डकीका विभिन्न जिल्लामा कार्यरत चार दर्जन बढी पत्रकारहरू सहभागी थिए ।

Advertisment