मगर चलचित्रकर्मी संघमा नयाँ नेतृत्व, अध्यक्षमा भीम राना

दमौली, २७ कात्तिक
मगर चलचित्रकर्मी संघ नेपालको तेस्रो महाधिवेशनबाट अध्यक्षमा भीम रानामगर चयन हुनुभएको छ ।
तनहुँको दमौलीमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षद्वयमा संगीता थापामगर र विश्वास आलेमगर, महासचिवमा सुमन थापामगर, सचिवमा नीर आलेमगर र कोषाध्यक्षमा तिलबहादुर थापामगर चयन हुनुभएको छ ।
त्यसैगरी, संघका केन्द्रीय सदस्यहरूमा सर्जन थापामगर (तनहुँ), रोशन रानामगर (रौतहट), मैत्या घर्तीमगर (रुकुम), ललितबहादुर बुढामगर (सुर्खेत), देवबहादुर पुनमगर (काठमाडौं), सुमन थापामगर (कास्की) र देवबहादुर एस्मालीमगर (काभ्रे) सर्वसम्मत चयन हुनुभएको छ ।
यसअघि, महाधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले मगर चलचित्रको विकासका लागि मगर संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मगर चलचित्रको बजार विस्तार र विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै महासचिव पुनमगरले तीनै तहको सरकार र मगर समुदायको साथ पाएमा मात्र मगर चलचित्रले फड्को मार्न सक्ने भनाइ राख्नुभयो ।


सो अवसरमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष एवं चलचित्र विकास बोर्ड, आदिवासी जनजाति तथा मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक अमृत सुनुवार, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापामगर, नेपाल मगर लेखक संघका अध्यक्ष डा. विष्णुकुमार सिंजालीमगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय संगठन सचिव नीर आलेमगर, नेपाल मगर संघ, तनहुँका अध्यक्ष मणिराज थापामगर, प्रतिमाया पुनमगरलगायतले बोल्नुभएको थियो ।
मगर चलचित्रकर्मी संघ नेपालका निवर्तमान अध्यक्ष युवराज मास्कीमगरको अध्यक्षतामा भएको उद्घाटनसत्रमा उपाध्यक्ष मेजन पुनमगरले स्वागत र सचिव भीम रानामगरले सञ्चालन गर्नुभएको थियो । प्रतिमाया पुनमगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisment