रूद्र ‘सन्देश’ मगरलाई केबी नाम्जाली साहित्य सम्मान

पोखरा, २८ मंसिर
मगर भाषा प्रतिष्ठान, कास्की शाखाले हरेक दुई/दुई वर्षमा प्रदान गर्दै आएको “कवि केबी नाम्जाली भुरुङ मगर साहित्य सम्मान–२०७८”बाट साहित्यकार रूद्र “सन्देश” मगरलाई सम्मान गर्ने भएको छ ।
मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको स्मृतिमा स्थापित सो सम्मानबाट साहित्यकार मगरलाई सम्मान गर्ने प्रतिष्ठानले निर्णय गरेको हो । प्रतिष्ठानकी सल्लाहकार फूलकुमारी थापामगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले मगरलाई सम्मान गर्न सिफारिस गरेको थियो । छनौट समितिका सदस्यहरूमा अक्षयकोष संरक्षक क्या. नरेश थापामगर र प्रतिष्ठानका अध्यक्ष रूद्रबहादुर हितानमगर रहनुभएको थियो ।
सम्मानका लागि कवि नाम्जालीकी श्रीमती शशी थापामगर र परिवारले १ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । सम्मानित हुन लागेका मगरलाई आगामी पुस २ गते कवि नाम्जालीको ५५ औं जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा ५ हजार नगद र ताम्रपत्रसहित सम्मान गरिने प्रतिष्ठानकी कोषाध्यक्ष मीना थापामगरले जानकारी दिनुभयो । यस सम्मानबाट यसअघि, स्याङ्जाका साहित्यकार रिमबाबु रानामगर, तनहुँका साहित्यकार धीरेन्द्र थापामगर “किसानी” र कास्कीकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित भइसक्नुभएको छ । अल्पायुमै देहावसान भएका कवि नाम्जालीका मीछास, म्हेलगायतका मगर र नेपाली भाषाका कृति प्रकाशित छन् ।

Advertisment