पत्रकार श्रीसलाई ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’

पोखरा, २३ असार
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले आफ्नो वैवाहिक वर्ष गाँठको अवसरमा स्थापना गरी प्रदान गरिँदै आएको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७९ बाट यस वर्ष पत्रकार रूद्र श्रीसमगरलाई प्रदान गरिने भएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), कास्की शाखामार्फत् वितरण गरिँदै आएको सो पुरस्कारका लागि तमु धिं नेपालका अध्यक्ष एवं पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरिएको थियो । जसमा पत्रकार दीपेन्द्र श्रेष्ठ, एमबी आस्था मगर, अधिवक्ता जुनाकुमारी गुरुङ र फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङ सदस्य रहनुुभएको थियो । सो छनौट समितिले पत्रकार श्रीसलाई पुरस्कार दिने सिफारिस गरे अनुसार फोनिज, कास्की शाखाको बैठकले अनुमोदन गरेको हो ।
यस पुरस्कारबाट पुरस्कृत हुन लागेका पत्रकार श्रीस हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष र नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव समेत रहनुुभएको छ । साथै, पत्रकार श्रीस फेवा टेलिभिजनका समाचार प्रमुख र कास्की आवाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत रहनुुभएको छ । पुरस्कारदाता कर्म तमुुको वैवाहिक वर्षगाँठका अवसरमा यही असार २९ गते सो पुरस्कार प्रदान गरिने फोनिज, कास्की शाखाका अध्यक्ष दिल गुरुङले जानकारी दिनुुभयो ।
सोही कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुुभयो ।
सो कार्यक्रमलाई सफल पार्न उपाध्यक्ष विनाकुमारी थापालाई अतिथि सत्कार, सदस्य मनप्रसाद गुरुङलाई मञ्च व्यवस्थापन, सचिव सुशील श्रेष्ठलाई प्रचारप्रसार र अध्यक्ष दिलप्रसाद गुरुङलाई अर्थ समितिको संयोजकको जिम्मेवारी दिइएको छ । सो कार्यक्रम गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यमा पोखरा नयाँबजार स्थित तमु धिं नेपालको सभाहलमा यही असार २९ गते हुनेछ ।
यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसक्नुुभएको छ ।

Advertisment