मगर पत्रकार संघ, चितवनको अध्यक्षमा आशिक राना

नारायणगढ, २४ असार ।
नेपाल मगर पत्रकार संघ, चितवनको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा आशिक रानामगर सर्वसम्मत चयन हुनुुभएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनबाट सात सदस्यीय कार्यसमितिको उपाध्यक्षमा आशिका थापामगर, सचिवमा मुना लम्तरी मगर र कोषाध्यक्षमा देउकुमार थापामगरलाई चयन गरिएको छ । कार्यसमिति सदस्यहरूमा भने तिलक थापामगर, पुनम थापामगर र किरण थापामगरलाई चयन गरिएको छ ।
यसअघि, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा पहिलो सत्र भएको थियो । ढिलै भए पनि सञ्चार क्षेत्रमा क्रियाशील मगरहरू संगठिन हुनु सकारात्मक विषय भएको भन्दै अध्यक्ष थापामगरले खुसी व्यक्त गर्नुभयो । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरूङले आदिवासी जनजाति समुदायमा पनि संगठित हुनुपर्छ भन्ने भावना जागेर आउनु नै सकारात्मक भएको बताउनुुभयो ।
कार्यक्रममा नेपाल मगर संघ चितवनका उपाध्यक्ष भीमबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघ चितवनका सचिव रामबहादुर भुजेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, थारू पत्रकार संघका केन्द्रीय उप–महासचिव विजय चौधरी, तमू सञ्चारमकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ, नेवाः पत्रकार राष्ट्रिय दबू चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङलगायतले शुभकामना मन्तव्य दिनुुभएको थियो ।

Advertisment