कास्कीका अमात्य र लमजुङका गुरुङलाई ‘कञ्चन पत्रकारिता पुरस्कार’

एकात्मकवादी चिन्तनका कारण आदिवासी जनजातिका गौरवपूर्ण इतिहास बाहिर आएन ः प्रदेश प्रमुख गुरुङ
पोखरा, २७ साउन ।
कास्कीका पत्रकार उदयबहादुर अमात्य र लमजुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ अर्पण गरिएको छ ।
पिता स्व. वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार फोनिजको २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार अर्पण गरिएको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय अमात्य र गुरुङलाई जनही दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका प्रदेश प्रमुख गुरुङले पत्रकारिता शक्तिशाली क्षेत्र भएको उल्लेख गर्नुभयो । “पत्रकार राज्यको चौथो अंग हो, मुख्य अंग हो”, उहाँले भन्नुभयो, “राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छ । ओदानको तीन खुट्टा भएझै यी तीन अंग शक्ति सन्तुलनको दृष्टिकोणले महत्वपूर्ण हुन्छ । यस पछिको अर्काे महत्वपूर्ण अंगको रुपमा पत्रकारितालाई लिइन्छ । त्यसैले स्वतन्त्र पत्रकारिता गर्न आवश्यक रहन्छ ।’
उहाँले पत्रकारहरु राज्यको निर्णायक अंग रहेको बताउँदै सचेतक भएको धारणा राख्नुभयो । “राज्यलाई गल्ती गर्दा औला ठड्याउने पत्रकार नै हुन् । नेपालको इतिहासमा निरकुंशको विरुद्धमा उभिएर सचेतकको भूमिकामा रहेको पाइन्छ, उनले भने, “त्यसैले पत्रकार सचेतक पनि हुन् । पत्रकार जहिल्यै लोकतन्त्र र नागरिक राष्ट्र हितको पक्षमा हुनुपर्छ ।’
उहाँले नेपाल एकीकरणदेखि अहिलेसम्म राष्ट्र निर्माणमा आदिवासी जनजाति समुदाय र पत्रकारको भुमिका सम्मानयोग्य रहेको उल्लेख गर्नुभयो । “नेपालको एकीकरणको अन्दोलनमा होस् । चाहे जहानिया राणाशासन विरुद्धको आन्दोलनमा होस् या पछिल्लो समयको आन्दोलनमा होस् । आदिवासी जनाजातिहरु नागरिकको स्वतन्त्रता र अधिकारको पक्षमा लागेको इतिहास छ, प्रदेश प्रमुख गुरुङले भने, “आदिवासी जनाजाति मात्रै होइन त्यही समुदायको पत्रकारहरुको पनि योगदान अतुलनीय छ । भलै शैक्षिक अवस्थाको कारण र एकल राज्यसत्तात्मक चिन्तनका कारण त्यो गौरवपूर्ण इतिहास बाहिर आउन सकेको छैन ।’
नेपाल एकीकरणको पक्षमा जनजातिहरुको भूमिका अतुलनीय रहेको बताउँदै पाउनुपर्ने अधिकारबाट वञ्चित भएको बताउनुभयो ।
उहाँले विमलमान गुभाजू र गुभाजू परिवारले आफ्ना स्व. पिता र माताको नाममा स्थापित कञ्चन पत्रकारिता पुरस्कारले फोनिजकर्मीहरुलाई थप प्रोत्साहन र हौसला प्रदान गर्ने समेत बताउनुभएको थियो ।


यसैगरी, पुरस्कृत व्यक्तित्व पत्रकार उदयबहादुर अमात्यले आफुलाई फोनिज दिवसको अवसरमा पुरस्कृत गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय भाषागत पत्रकारिता लोप हँुदै गएको बताउँदै फोनिजले संरक्षणको लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । “पछिल्लो समय मातृभाषा लोप हुदै गएको छ । त्यसको संरक्षण हुन आवश्यक छ, उहाँले भन्नुभयो, “नजानेको भए सिक्नुपर्छ । तर यसको उजागर र संरक्षण हुन जरुरी छ ।’
पुरस्कृत भएका आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुनुहुन्छ भने गुरुङ कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुनुहुन्छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिले पत्रकारद्वयलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।
यसअघि उक्त पत्रकारिता पुरस्कारबाट बागलुङका राजेशचन्द्र राजभण्डारी, कास्कीका रूद्रबहादुर थापा र शान्ति गुरुङ तथा नवलपुरका केबी राना पुरस्कृत भइसक्नुभएको छ ।

फोनिज दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
फोनिज गण्डकी प्रदेशले संस्थाको २३ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधान, पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनालाई प्रदेश प्रमुख गुरुङले खादा तथा मालासहित सम्मान गरे ।
यसैगरि वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, फोनिजका केन्द्रीय सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष विना थापामगर, उपाध्यक्ष, सुरज थापामगर, सचिव प्रविन मगर, सहसचिव बल बहादुर रोकामगर, कोषाध्यक्ष आशामाया थापामगर, सदस्यहरु श्याम रानामगर, विकास रोका मगर, जुना थापामगर, सिजन थापामगर, सुजन थापामगरलाई सम्मान संस्थाका महासचिव सुमन गुरुङले जानकारी दिनुभयो ।
उनका अनुसार मिस मगर नेपाल–२०२२ मिलन थापामगर, सेकेन्ड रनरअप टुगा राना मगर, थर्ड रनरअप मिना गर्बुजा मगर, भ्यूअर्स च्वाइस रोश्ना बुढाथोकी मगरलगायतलाई सम्मान गरिएको थियो ।
संस्थाका महासचिव गुरुङले गुभाजू परिवारद्वारा स्थापित ७ लाखको कोषमा यस वर्ष १ लाख रुपैयाँ थप गरि ८ लाख पु¥याइएको बताउनुभयो ।
सो कार्यक्रममा फोनिजका केन्द्रीय सल्लाहकार हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेल, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फोनिज गण्डकीका अध्यक्ष रूद्रबहादुर श्रीसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव धनबहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment