मगर समुदायको कला संस्कृति लोप हुने अवस्थामा पुग्यो ः वनमन्त्री थापा

पोखरा, ४ भदौ
गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापा चर्तीमगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
शनिबार नेपाल मगर पत्रकार संघ कास्की शाखाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दैै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपोन्मुख अवस्थामा पुुग्न थालेको अभिव्यक्ति दिनुभएको हो । उहाँले कला तथा संस्कृति मगर समुदायको सम्पत्ति भएको बताउँदै संरक्षणको आवश्यकता रहेको बताउनुभयो ।
‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुुदै गएको छ जसको कारण भाषा लोपउन्मुुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको संरक्षणमा उचित ध्यान नपुग्दा भाषा, कलासंस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ, उहाँले भन्नुभयो, ‘यसको संरक्षणमा सबैका ध्यान जान जरुरी छ ।’ उहाँले आदिवासीहरुको भाषाहरूलाई उचित प्राथमिकता नदिदा आदिवासीहरुको भाषा कला संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री थापा मगरले राज्यसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।
‘मौलिक कलासंस्कृति भनेको के हो ?”, मन्त्री थापामगरले प्रश्न गर्नुभयो, ‘मौलिक खेल भनेको के हो ? सबै संकटमा छन्, त्यसैले भाषाको संरक्षणसँगै कलासंस्कृति के हो भनेर युवापुस्तामा सिकाउन र पुुस्तान्तरण गर्न आवश्यक रहेको छ ।’ उहाँले आदिवासीहरुको मौलिक खेल समेत ओझेलमा परेको धारणा राख्नुभयो । ‘आदिवासीहरुको मौलिक खेल अहिले संकटमा छ, उहाँले भन्नुभयो, ‘उनीहरुको मौलिक खेलहरु अहिले केही मात्र देख्न सकिन्छ तर प्राय खेलहरु लोपोन्मुुख भएकाले यसको संरक्षणमा विशेष योजना राज्यको हुुन आवश्यक छ ।’
यसैगरी, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पछिल्लो समय मगर युवाहरु पत्रकारितामा आर्कषण भएपनि उनीहरुलाई तालिम तथा गोष्ठीहरुको आवश्यक रहेको बताउनुभयो । ‘मगर समुदायको पनि पत्रकारिता तथा सञ्चार क्षेत्रमा आकर्षण छ, तर उचित किसिमको तालिम, परामर्शहरूको आवश्यक छ, उहाँले भन्नुभयो, ‘मगर तथा आदिवासीहरुको मुुद्दामा अरुले सही सूचना दिन नसक्दा उनीहरुले उठाएका मुुद्दाहरुले स्थान नपाएको हो ।’ दक्ष जनशक्ति निर्माण गर्न उहाँले सबैलाई उचित किसिमको तालिम तथा परामर्शहरुको आवश्यक रहेको बताउदै यथाशिघ्र सञ्चालन गर्न सुझाव दिनुभएको थियो ।

नवनिर्वाचित टिमको पदस्थापन
नेपाल मगर पत्रकार संघ कास्की शाखाको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई शनिबार नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, केन्द्रीय सचिव तथा अधिवक्ता मनोज घर्तीमगर र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पदस्थापन गराउनुभयो । सो कार्यक्रममा नेपाल मगर संघ कदममार्ग चाउथे इकाई समिति तथा कौराहा समूहलाई सम्मान गरिएको थियो । दोस्रो जिल्ला अधिवेशनले विनु थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको थियो ।
समितिको उपाध्यक्षमा सुरज थापामगर, सचिवमा प्रविन थापा मगर, सहसचिवमा बलबहादुर रोकामगर, कोषाध्यक्षमा श्याम राना मगर, सहकोषाध्यक्षमा आशा मगर चयन हुनुभएको थियो । सदस्यहरूमा विकास रोकामगर, जुना थापामगर, सिजन थापा मगर, गीता रानामगर चयन हुनुभएको थियो ।

Advertisment