मगर भेजा समाज नेपालद्वारा कानून व्यवसायी र उच्च प्रहरी अधिकृत सम्मानित

काठमाडौं, ४ भदौ
मगर भेजा समाज नेपालद्वारा वरिष्ठ अधिवक्ता गौरबहादुर आले मगर, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय ओम रानामगर र डा. सुरज रानामगरलगायत अन्य व्यक्तिहरू सम्मानित भएका छन् । शनिबार काठमाडौंमा उक्त समाजद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् ।


त्यस्तै, सरकारी उच्च पदस्थ कर्मचारी, कानुन व्यवसायीहरूलाई पनि सम्मान गरेको उक्त समाजका उपाध्यक्ष खिमबहादुर थापामगरले बताउनुभयो । थापामगरले कार्यक्रममा बोल्दै आर्थिक वर्ष २०७९/८० मा पदोन्नति भएका वरिष्ठ अधिवक्ता आलेमगर र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय रानामगरलगायतका अन्य विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गरेको बताउनुभयो । आले र रानाले सरकारी निकायमा मगर समुदायको प्रतिनिधित्व गर्दै आएकोमा उपाध्यक्ष थापाले खुलेर प्रशंसा गर्नुभयो ।
वरिष्ठ अधिवक्ता गौबहादुर आलेले मगर समुदायका व्यक्तिहरू पनि कानुनी क्षेत्रमा सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले समयक्रमसँगै मगर समुदायले पनि कानुनी व्यवसायलाई अंगाल्दै आएको बताउनुभयो । आलेले कानुनको श्रेष्ठता बुझ्न मगर समुदायलाई अग्रसर हुन आग्रह गर्नुभयो । यस क्षेत्रमा संलग्न हुने जो–कोहीलाई आफूले सहयोग गर्न कञ्जुस्याइँ नगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक ओम रानामगरले समाजमा भइरहेका अपराधिक कार्यलाई रोकथाम गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले देश तथा समाजलाई शान्तिपूर्ण बतावरणमा ल्याउन प्रहरी हरदम लागि पर्ने बताउनुभयो । अर्का प्रहरी वरिष्ठ उपरीक्षक (प्राविधिक) तर्फका डा. सुरज रानामगरले स्वास्थ्य समस्यामा केही अफ्ठयारो परेमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । मगर समुदाय लगायत आम नेपाली जनताको स्वास्थ्यमा समस्या देखिए नेपाल प्रहरी सहयोगमा दत्तचित्त हुने बताउनुभयो ।
उपाध्यक्ष खिम थापामगरले यस समाजले आगामी दिनमा उद्यमीहरूको लागि भेजा वित्तिय साक्षरता परीक्षण, महिला तथा बालबालिकालाई कानुनी प्रशिक्षण, लागूऔषधविरुद्ध अभियान चलाउने कार्यक्रम तय गरेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा जेष्ठ नागरिक दिलकुमारी बगालेमगर रहनुभएको थियो । कार्यक्रम सञ्चालन भेजा समाजकी महासचिव तारादेवी थापामगरले गर्नुभयो । स्वागत मन्तव्य यशोदा पुन थापामगरले गर्नुभएको थियो । कार्यक्रममा भेजा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने नयाँ सदस्यहरूलाई स्वागत गरिएको छ ।


समाजका कार्यवाहक अध्यक्ष खिमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरुको पनि उल्लेख्य सहभागिता थियो । भेजा समाजलाई साथ र सहयोग गर्ने संघ–संस्थाहरूका प्रतिनिधिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रम सम्पन्न गर्न प्रायोजन गर्ने प्रायोजकहरूलाई पनि सम्मान गरिएको थियो ।

Advertisment