मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा कृष्ण बुढामगर

पोखरा, ५ भदौ
नेपाल मगर विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पस समितिको अध्यक्षमा कृष्ण बुढामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न २२ औं क्याम्पस अधिवेशनबाट बुढामगर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट उपाध्यक्ष अनोक पुलामीमगर, सचिवमा देवी रानामगर, सह–सचिवमा कृष्ण बुढामगर (ख) र कोषाध्यक्षमा राधा थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा मिराज थापामगर, रितेश थापामगर, किरण थापामगर, जयन्ती थापामगर, दिप्लव थापामगर, दिपेश घर्तीमगर, ममता फगामीमगर, खमसरा घर्तीमगर, इन्द्रा थापामगर र एलिसा थापामगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढामगर (सागर)ले शैक्षिक मुद्दाको बारेमा बहसको आवश्यकता रहेको बताउनुभयो । बहुभाषिक र बहुसांस्कृतिक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री बुढामगरले शैक्षिक विषयमा बहस र छलफल चलाउन मगर विद्यार्थी संघलाई आग्रह गर्नुभयो । मन्त्री बुढामगरले पछिल्लो समय संघीयताविरोधी शक्तिले प्रदेश खारेजीको कुरा उठाएको भन्दै मगरलगायतका आदिवासी जनजाति समुदायले संघीयतालगायतका उपलब्धी जोगाउन खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । अहिले प्रदेश खारेजीको मुद्दा उठाउनु संविधानविरोधी कुरा भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका महासचिव प्रेम रोकामगर, सचिव मनिष थापामगर, पूर्व केन्द्रीय सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र गोविन्द पुनमगर, गण्डकी प्रदेशका उपाध्यक्ष प्रेम बुढामगर, सदस्य सुशील थापामगर, कास्की जिल्ला अध्यक्ष राजीव थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वीनारायण क्याम्पस समन्वय समितिका अध्यक्ष अर्जुन बराम, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य त्रिदीप गुरुङ, अनेरास्ववियु, पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष विष्णु पोखरेललगायतले बोल्नुभएको थियो ।
निवर्तमान अध्यक्ष सोनम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृष्ण बुढामगरले सञ्चालन र कोषाध्यक्ष देवी राना पुनमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा सालैजो, झ्याउरे, कौरालगायतका मगर जातिमा प्रचलित सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएका थिए । अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि निर्वाचन मण्डल प्रमुख संघका पूर्व केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, सदस्यहरूमा पूर्व केन्द्रीय सदस्य गोविन्द पुनमगर र प्रदेश उपाध्यक्ष प्रेम बुढामगर रहनुभएको थियो ।

Advertisment