फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई ज्ञापनपत्र

पोखरा, २१ भदौ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनपर्ने माग सहित फोनिज गण्डकीले ज्ञापनपत्र बुझाएको हो । शुक्रबार फोनिज गण्डकी ईन्चार्ज एमबी आस्था मगरको उपस्थितीमा पत्रकार महासंघ गण्डकी मार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सचिव यदुनाथ बञ्जराले उक्त ज्ञापनपत्र बुझ्नुभएको हो ।
२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको ज्ञापन पत्रमा छ ।
नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापनपत्र मार्फत फोनिज गण्डकीले नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताउनुभयो । सत्य लुकाएर लुक्न नसक्ने उहाँको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । फोनिजले देशव्यापी रुपमा नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको हो । बिहीबार जिल्ला शाखाहरु र शुक्रबार प्रदेश शाखाहरुले ज्ञापनपत्र बुझाएको छ ।
अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्ने प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको छ ।
प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुन् । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौँ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

Advertisment