रिम रानाको मगर भाषाको मुक्तक संग्रह ‘बरनौली’ लोकार्पित

पोखरा, २९ असोज
साहित्यकार रिमबहादुर रानामगरद्वारा लिखित मगर भाषाको मुक्तक संग्रह “बरनौली”को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशद्वारा आयोजित लोकार्पण कार्यक्रममा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक चर्तीमगर, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” र नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”ले संयुक्त रुपमा सो कृतिको लोकार्पण गर्नुभएको हो ।
“बरनौली” मुक्तक संग्रह रानामगरको पहिलो साहित्यिक कृति समेत हो । कृति लोकार्पण पछि बोल्दै मन्त्री चर्तीमगरले मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने थुप्रै आधार रहेको बताउनुभयो । मगर भाषालाई प्रदेशको सरकारी कामकाजमा प्रयोग गर्ने प्रयत्न आफ्नो कार्यकालमा सफल हुन नसकेको भन्दै मन्त्री चर्तीमगरले आगामी निर्वाचित सरकारले मगरलगायतका बहुसंख्यक जनताले बोल्ने मातृभाषालाई सरकारी कामकाजमा प्रयोग गर्न व्यवस्था गर्नुपर्ने बताउनुभयो । मगर जाति वर्गीय र जातीय दुवै हिसाबले उत्पीडनमा रहेको भन्दै उहाँले विगतको राज्यसत्ताले साम, दाम, दण्ड र भेदको नीतिले मगरलगायतका आदिवासी जनजाति समुदायमाथि थिचोमिचो र दमन गरेको दाबी गर्नुभयो । मगर जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि राजनैतिक तहबाट आफूले सक्दो प्रयत्न गर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले विद्यालयमा मगर भाषाको पढाइका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै मगर भाषाको साहित्य विकासमा विशेष ध्यान दिन मगर समुदायलाई आग्रह गर्नुभयो । स्थापना भएदेखि नै प्रतिष्ठानले मगरलगायतका मातृभाषाको संरक्षणको कार्यक्रम अघि बढाएको जनाउँदै कुलपति खड्काले प्रयोगमा आउन छाडे मातृभाषा लोप भएर जाने बताउनुभयो । सो कृतिका स्रष्टा रिमबहादुर रानामगरले निकै पहिलेदेखि नै आफूले मगर भाषाको साहित्यिक कृति प्रकाशन गर्न खोजेपनि बल्ल अहिले आएर सम्भव भएको बताउनुभयो । लामो संघर्षपछि आफूले मगर भाषामा मुक्तक संग्रह लिएर आएको भन्दै उहाँले आगामी दिनमा समेत साहित्य लेखनलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय सचिव एवं पत्रकार रूद्रबहादुर श्रीसमगरले कृतिमाथिको समीक्षा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, नेपाल मगर महिला संघकी केन्द्रीय भाषिक उपाध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर संघ, कास्कीका भाषा विभाग प्रमुख शिव थापामगर, सेती काली साहित्य संगम, भिमाद, तनहुँका अध्यक्ष नारायणकैलाश सिग्देल, शुक्ला साहित्य संगम, तनहुँका उपाध्यक्ष रामशरण गैरे, मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानामगर, रेडियो नेपालका सञ्चारकर्मी गोविन्द सिंजालीमगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खड्क आलेमगरले स्वागत र सह–सचिव दीपक सिंजालीमगरले स्रष्टा परिचय दिनुभएको थियो । सो अवसरमा नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्र सन्देश मगरले पनि बोल्नुभएको थियो ।

Advertisment